‘हुनेले दिनुहोस्, नहुनेले लिनुहोस्’ « Drishti News – Nepalese News Portal
Logo

‘हुनेले दिनुहोस्, नहुनेले लिनुहोस्’


दृष्टि संवाददाता


महोत्तरी । महोत्तरीको बर्दिबासमा नागरिकस्तरमा गठित कोभिड–१९ व्यवस्थापन समितिले भोकालाई खुवाउन ‘खाद्य बैंक’ सञ्चालनमा ल्याएका छन् ।

अहोरात्र सुरक्षामा खटिने सुरक्षाकर्मी, पैदलयात्री र महाव्याधीले रोजगारी गुमाएर भोकभोकै बस्नपर्ने अवस्थाका गरीबलाई खाजा, खाना खुवाउन ‘खाद्य बैंक’ सञ्चालनमा ल्याइएको समितिले जनाएको छ ।

बर्दिबास उद्योग वाणिज्य सङ्घ, होटल तथा पर्यटन व्यवसायी सङ्घ, बर्दिबास हेल्प फाउण्डेशन र रोटरी क्लब अफ बर्दिबाससहितका सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको पहल कदमीमा ‘खाद्य बैंक’ सञ्चालन गरिएको हो ।

महोत्तरी–१ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य शारदा थापाको अध्यक्षतामा गठित कोभिड–१९ व्यवस्थापन समितिले ‘खाद्य बैंक’ सञ्चालनका लागि उपसमिति नै गठन गरेको छ ।

‘खाद्य बैंक’ मा आवश्यक खाजा, खाना व्यवस्थापनका लागि बर्दिबास उद्योग वाणिज्य सङ्घले महाव्याधीको असहज परिस्थिति रहुञ्जेल रासनको आपूर्तिको जिम्मेवारी लिएको छ ।

‘हामीले समितिलाई सहयोग गर्न सबै उपकारी मनहरुसँग सार्वजनिक अपिल नै गरेका छौँ’ ‘खाद्य बैंक व्यवस्थापन उपसमितिका संयोजक रेवन्त कार्कीले भने, ‘गर्नेले मन फुकाएर सहयोग गरिरहेका छन् ।’

खाजा, खाना पूर्व­पश्चिम राजमार्ग, अस्पताल परिसरका अतिरिक्त भोका मान्छे वरपर कहीँ छन् भन्ने थाहा पाउनासाथ तयारी खाजा र खाना पु¥याइने गरिएको संयोजक कार्कीको भनाइ छ ।

समितिले आफ्नो व्यानरमा ‘हुनेले दिनुहोस्, नहुनेले लिनुहोस्’ भन्ने मुख्य नारा नै बनाएको छ । समितिले कोभिड–१८ प्रभावितलाई निःशुल्क एम्बुलेन्स सेवा, घरघर पुगेर प्रभावित परिवारलाई मास्क, सेनिटाइजरसहितका स्वास्थ्य सामग्री वितरण गर्नुको साथै र केही पर्दा ‘हामी छौँ’ भनेर ढाडस दिने गरेको समितिका अध्यक्ष थापाले बताए ।

‘दुःख आपदका बेला ल, चिन्ता नगर्नुहोस् , हामी छौँ नि १ यति कुराले पनि प्रभावित परिवारलाई राहत हुँदो रहेछ’ समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य थापाले भने, ‘निकै सङ्क्रमण बढेको बर्दिबास–५ चेरुमा पुगेर सङ्क्रमित र उहाँहरुका परिवारलाई भेट्यौँ, उहाँहरुले राहत महसुस गर्नु भएको हाम्रो ठम्याइ छ ।’

समितिले विभिन्न सामाजिक सङ्घ संस्थासँग समन्वय गरेर अक्सिजनको आवश्यकता रहेका बिरामीलाई सोको आपूर्ति पनि गर्दै आएको छ ।

‘हुनेले दिनुहोस्, नहुनेले लिनुहोस्’ अभियानमा रोटरी क्लब अफ बर्दिबासले रु दुई लाख, होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरी, बर्दिबास सहकारी सञ्जाल र बर्दिबास हेल्प फाउण्डेशनले रु एक लाख ५० हजार सहयोग गरेको समितिले जनाएको छ ।

यसैगरी हेल्थ फाउण्डेशन महोत्तरीले सङ्क्रमितहरुका लागि स्वास्थ्य सामग्री र आवश्यक औषधि उपलब्ध गराउँदै आएको अध्यक्ष थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्