Logo
Logo

आत्मबल बलियो हुनाले कोरोना जिते


रामशरण सापकोटा


पहिलो चरणको कोरोना संक्रमणबाट जोगिएँ । सायद त्यतिखेर मैले धेरै सावधानी अपनाएको थिएँ । जुनसुकै बेला हात सेनिटाइज गर्ने, मास्क लगाइरहने मध्येमा म पनि पर्दथेँ ।

२०७८ को सुरुवातमा कोरोनाको दोस्रो लहर आउन थालेको समाचारहरूमा सुनेको थिएँ । तर, मतलब गरिएन । साथीहरूसँग घुम्न सुकुटे गएँ । घर फर्किएदेखि शरीर गाह्रो भयो ।

दुखाई फरक थियो । जीउ गलेको जस्तो हुन्थ्यो । सामान्य रुघाखोकी लाग्यो । गन्ध तथा स्वाद पाउन छोडेँ । विस्तारै छाती दुख्न थाल्यो, श्वास फेर्न गाह्रो भयो । अप्ठ्यारो महसुस गरेपछि पीसीआर परीक्षण गरे । परीक्षण पोजेटिभ आयो ।

समाचारले पीडा दियो

कोरोना लागेको थाहा पाउँदा त्रसित हुनु स्वभाविक थियो । त्यो भन्दा पीडा १९ दिनको होम आइसोलेसनमा भयो । कोरोना जितिन्छ भन्दै आफैलाई सान्त्वना दिन खोज्थेँ । उच्च मनोबल बनाइरहेको हुन्थेँ । तर, फेसबुकमा देखिने समाचारले त्रसित बनाउँथ्यो, पीडा दिन्थ्यो । अक्सिजन अभाव, शय्या अभाव, बेड खोज्दा खोज्दै ज्यान गयो जस्ता समाचारले त्रसित बनायो । ‘म गम्भीर भएँ भने… ।’ मनमा अनेक डर थिए ।

खानपान र व्यायाममा जोड

आइसोलेसनमा रहँदा घरेलु स्वास्थ्य उपचार पद्दती बुझ्ने मौका पाएँ । ज्वानो तथा बेसारको सुप, गुर्जाे, मह तथा कागती मिसाएको मनतातो पानी खाएँ र पिएँ । हरियो सागसब्जी प्रशस्त मात्रामा खाएँ ।

आफूलाई कमजोर महसुस नहुने गरी दिनको तीन पटक ब्यायाम गरेँ । घाम तापेँ । स्वास्थ्यवद्र्धक खानेकुरा खाएको छु । इम्युनिटी पावर बढ्दैछ । अब कोरोना पराजित हुन्छ भन्ने मनोबल बन्दै गयो । त्यसमा आफन्त र साथीभाइको हौसला सबैभन्दा ठूलो कुरा बन्यो ।

केही होइन नभनौं

धेरैले कोरोना केही होइन भन्ने गरेका छन् । कोरोना के हो भन्ने भोग्नेलाई थाहा हुन्छ । संक्रमणबाट ज्यान गुमाउनेको परिवारलाई थाहा छ । यसलाई खेलाँची सोच्नु हुन्न ।

मलाई अरु संक्रमितलाई जस्तो अन्तिम अवस्थामा त पुर्याएन तर अधिक पीडा पक्कै दियो । कहिलेकाहीँ ‘लैजान्छ कि क्यो हो’ जस्तो नलागेको होइन । तर, जसोतसो जितियो ।

इम्युन पावर राम्रो भएकाले कोरोना जितिन्छ पनि होला । धेरैले जितेका पनि छन् । तर, कोरोनाले केही गर्दैन भन्ने धेरै कोरोनासँग हारेका छन् । त्यसैले कोरोनाबाट बच्नु नै सबैभन्दा ठूलो कुरा हो । कोरोना लागेर जित्ने भन्दा पनि लाग्नै नदिनु राम्रो हो ।

दृष्टिकर्मी अजय मरासिनीसँगको कुराकानीमा आधारित ।

प्रतिक्रिया दिनुहोस्