‘टाउ टेई’को असर शुक्रबारसम्म « Drishti News – Nepalese News Portal
Logo

‘टाउ टेई’को असर शुक्रबारसम्म


दृष्टि संवाददाता



काठमाडौं । अरब सागरमा विकसित भएको ‘टाउ टेई’ नामको शक्तिशाली चक्रवातको असर नेपालमा पाँच दिन पर्ने भएको छ । अहिलेकै समयमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित भई प्री–मनसुन थप सक्रिय भएकाले पनि नेपालमा सोमबारदेखि दोहोरो मौसमी असर सुरु भएको छ ।

अहिले पनि अरब सागरमा आफ्नो उग्र रूप निर्माण गर्न सक्रिय रहेको ‘टाउ टेई’ चक्रवात जमिनमा नखसेसम्म यसले आसपासका क्षेत्रमा असर पु(याउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवातले प्रत्यक्ष असर नपारे पनि भारत हुँदै आउँदा अप्रत्यक्ष असर बढी देखिने भएको हो ।

मौसमविद् प्रतिभा मानन्धरले भन्नुभयो, “सोमबारदेखि आउँदो शुक्रबारसम्म यस चक्रवातको हल्का असर नेपालमा पर्नेछ, शनिबारदेखि मौसममा सुधार हुँदै जानेछ ।” जसअनुसार सोमबार मध्यदेखि नै नेपालको अधिकांश आकाशमा बादल लागेको छ ।

उहाँका अनुसार भारतमा यस चक्रवातको असर विगत केही दिनयतादेखि नै चर्को रूपमा देखिएको छ । तर त्यो असर नेपालसम्म आइपुग्दा कमजोर हुने भएकाले पनि ढिला र कम असर पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । महाशाखाका अनुसार मङ्गलबारसम्म सामान्य रहने चक्रवातको असर बुधबारदेखि शुक्रबारसम्म भने अलिक बढी हुनेछ ।

बुधबारदेखि आकाश पूर्ण रूपमा बादलले ढाक्ने र विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना महाशाखाले औँल्याएको छ । अबको चार दिन मौसम खराब रहने भएकाले नेपालका पश्चिमी हिमालमा हिमपात हुने र हावा चल्ने हुनाले त्यस क्षेत्रमा आरोहण नगर्नसमेत महाशाखाले सचेत गराएको छ । अरब सागरबाट पश्चिम भारत हुँदै जमिनमा उत्रने सो चक्रवातको असर पनि नेपालको पश्चिमी भेगमा बढी पर्नेछ ।

गण्डकी, लुम्बिनी र कर्णाली, सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । केही स्थानमा भारी वर्षा हुने पनि लक्षण देखिएको छ । प्रदेश १, २ र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् मानन्धरले बताउनुभयो । जति पूर्व हुँदै गयो, त्यति चक्रवात र पश्चिमी वायुको असर कम हुने औँल्याइएको छ ।

प्री–मनसुनको असर भने पहाडी भेगमा समेत देखिने छ । जसका कारण केही भेगमा मेघ गर्जन र चट्याङसहितको वर्षा हुने आकलन गरिएको छ । काठमाडौँलगायतका मुख्य सहरमा पनि हल्कादेखि मध्य वर्षा हुने अनुमान महाशाखाले गरेको छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्