Logo
Logo

१९ प्रतिशतले बढ्यो जीवन बीमा कम्पनीको नाफा


दृष्टि संवाददाता



काठमाडौं । चालू आर्थिक वर्षको ९ महीनामा जीवन बीमा कम्पनीहरूले रू.३ अर्ब २० करोड ८८ लाख खुद नाफा कमाएका छन् । नेपालमा सञ्चालित १९ जीवन बीमा कम्पनीले हालै सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणले यस्तो देखाएको हो ।

कम्पनीहरूको उक्त नाफा गत आवको सोही अवधिको तुलनामा १९ दशमलव ०८ प्रतिशत बढी हो । गत आवको चैत मसान्तसम्ममा कम्पनीहरूले रू. २ अर्ब ६९ करोड ४६ लाख नाफा कमाएका थिए ।

जीवन बीमा कम्पनीहरूको यो नाफा बीमांकीय मूल्यांकन हुनुभन्दा अगाडिको हो । बीमांकीय मूल्यांकन गर्दा बीमांकीले बीमाकोषमा भएको निश्चित रकम नाफा नोक्सान खातामा सार्न सक्छन् । त्यसअनुसार बीमांकीय मूल्यांकनपछि कम्पनीहरूको नाफा थप बढ्नेछ ।

कोरोना कहरका बीच पनि समीक्षा अवधिको नाफा उत्साहजनक रहेको कम्पनीहरूको भनाइ छ । कोरोना कहर र विगतमा लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण चालू आवको पहिलो त्रैमाससम्म जीवन बीमा व्यवसाय नराम्ररी प्रभावित भएको थियो । तर, तेस्रो त्रैमाससम्म आउँदा व्यवसायमा सुधार भएकाले नाफा पनि बढेको कम्पनीहरू बताइएको छ ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले तेस्रो त्रैमासमा जीवन बीमा कम्पनीको नाफामा उलेख्य वृद्धि देखिएको बताए । ‘नाफा बढ्नुमा कम्पनीअनुसार फरक फरक कारण हुन्छन् । समग्रमा भने लगानीबाट हुने प्रतिफल बढेरै नाफा बढेको हो,’ उनले भने ।

पछिल्लो समय कम्पनीहरूले शेयर लगानीबाट आम्दानी गरेकाले पनि नाफा बढेको उनको भनाइ छ । उनले भने, ‘विगत केही महीनादेखि नेपाली शेयर बजार बढ्दो क्रममा छ । त्यो अवस्थामा कम्पनीहरूले शेयर बजारमा लगानी गरेर नाफा बुक गर्ने काम पनि भएको हुन सक्छ ।’, यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्