Logo
Logo

बलबुताका आधारमा सिलिन्डर व्यवस्थापन गर्दै सांसद र मन्त्री


दृष्टि संवाददाता



काठमाडौं । ऊर्जामन्त्री टोपबहादुर रायमाझीले काठमाडौंबाट गृहजिल्ला अर्घाखाँचीका लागि पठाएका १८ थान अक्सिजन सिलिन्डर गत २९ वैशाखमा नागढुंगा प्रहरीले रोक्यो  । अघिल्लो दिन अक्सिजन सकिएर भैरहवाको भीम अस्पताल, बुटवलको धागो कारखानाको आइसोलेसन र नेपालगन्जको भेरी अस्पतालमा १६ जना संक्रमितको मृत्यु भएको थियो  । अक्सिजन वितरण अस्तव्यस्त भएको वेला कागजपत्र केही नभएको भन्दै पाँच घन्टासम्म रोकेपछि प्रहरीले अन्तिममा छोड्यो  ।

‘जिल्लाको अस्पतालबाट अक्सिजन अभाव भयो भनेर फोन आएपछि मन्त्रीज्यूले सिलिन्डर पठाउनुभएको हो । तर, सिसिएमसीको सिफारिस र पत्र नभएको भन्दै प्रहरीले पाँच घन्टा रोक्ने काम गर्‍यो,’ मन्त्री रायमाझीका स्वकीय सचिव लीला जिसीले भने  । उनका अनुसार मन्त्री रायमाझीले सुरक्षा निकायसँग कुराकानी गरेपछि गाडी सन्धिखर्क पुगेको थियो  ।

जिल्ला अस्पतालका प्रमुख डा. कपिल गौतमले मन्त्री रायमाझीले पठाएका १८ थान सिलिन्डरसहित स्वास्थ्य सामग्री प्राप्त गरेको बताए । ‘जिल्ला अस्पतालमा भएका अक्सिजन सिलिन्डर खाली हुनासाथ रिफिल गर्न लैजानुपर्ने र रिफिलका लागि लामो समय लाइन लाग्नुपर्ने अवस्था थियो ।

हामीले मन्त्रीज्यूसमेत उपस्थित भएको डिसिएमसीको बैठकमा थप अक्सिजन सिलिन्डर आवश्यक पर्ने जानकारी गराएका थियौँ  । उहाँले पहल गर्ने प्रतिबद्धता गरेर जानुभएको थियो  । सिलिन्डर प्राप्त भएपछि अहिले सहज भएको छ,’ उनले भने  ।

अहिले अस्पतालमा अहिले ६० थान अक्सिजन सिलिन्डर छन्  । जसमध्ये १८ थान ऊर्जामन्त्री रायमाझी, ६ थान लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री चेतनारायण आचार्य, चार थान सन्धिखर्क नगरपालिका, १४ थान जिल्लामा रहेका विभिन्न उद्योगहरूबाट प्राप्त भएको अस्पतालले जनाएको छ  ।

मन्त्री रायमाझीको सचिवालयको सचिवालयले अब जिल्लामा नै अक्सिजन प्लान्ट निर्माण गर्ने गरी बिहीबारबाट काम सुरु हुने जनाएको छ  । अहिले अर्घाखाँची अस्पतालका लागि चाहिने अक्सिजन रिफिल गर्ने जिम्मा लुम्बिनी प्रदेशका आन्तरिक मामिलामन्त्री आचार्यले लिएका छन्  ।

‘हामीले उद्योगसँग समन्वय गरी दैनिक १० देखि १५ सिलिन्डर अक्सिजन भरेर पठाएका छौँ । जिल्लाका लागि अक्सिजन रिफिल गर्दा लाग्ने खर्च गुल्मीनिवासी बालकृष्ण भुसालले गरिरहनुभएको छ,’ मन्त्री आचार्यका स्वकीय सचिव प्रदीप नेपालीले भने  ।

कोरोना संक्रमण बढ्दै गएपछि अस्पतालमा बिरामीको चाप बढेको छ  । ‘पहिला निमोनिया भएर अक्सिजन लेबल ४० पुगेपछि मात्र बिरामी अस्पताल आउने गर्नुहुन्थ्यो  । अहिले समस्या देखियो भने फोन गरी परामर्श गर्ने तथा समयमै अस्पताल आउन थाल्नुभएको छ,’ जिल्ला अस्पतालका डा. गौतमले भने, ‘कोरोनाको दोस्रो लहर सुरु भएपछि ६५ जनाको अक्सिजनको सपोर्टमा उपचार गरेर डिस्चार्ज गरेका छौँ । अहिले २५ जनाको अक्सिजनको सपोर्टमा उपचार चलिरहेको छ  ।’ , यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्