Logo
Logo

कोरोनाबाट उपप्रमुख चौधरीको निधन


दृष्टि संवाददाता


राजविराज । सप्तरीको उत्तरी भेगमा रहेको सप्तकोशी नगरपालिकाका उपप्रमुख आशा चौधरीको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ । विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै मृत्यु भएको कञ्चनरुप नगरपालिका निवासी उत्तम आचार्यले जानकारी दिए ।

दुई साताअघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई स्थानीय स्वास्थ्यचौकीमा भर्ना गरिएको थियो । त्यसपछि एन्टिजेन परीक्षण गर्दा उहाँलाई कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए ।

गर्भवतीसमेत रहनुभएकी उहाँलाई १० दिनअघि अस्पताल भर्ना गरी आइसीयूमा राखिएको थियो । तीन दिनअघि मात्रै उहाँको पेटमा भएको बच्चा पनि मृतावस्थामा निकालिएको थियो । बच्चाका कारण पनि उनलाई थप असहज भएको स्वास्थ्यकर्मीको भनाइ छ ।

उपचारका क्रममा पनि स्वास्थ्यमा सुधार नआएपछि उहाँलाई भेन्टिलेटरमा सारिएको थियो । मृतक चौधरीका पति र सात वर्षीय एक छोरा छन् । यससहित सप्तकोशीमा कोरोनाका कारण मर्नेको सङ्ख्या तीन पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्