Logo
Logo

कास्की, रौतहट, नवलपरासी, उदयपुर, कैलाली र धनुषामा दुर्घटना, ६ जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ३ चैत ।
शनिबार बेलुका देशका विभिन्न ६ जिल्लामा भएका दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। कास्की, रौतहट, नवलपरासी, उदयपुर, कैलाली र धनुषामा दुर्घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


धनुषाको कमला नगरपालिका-२ लग्मास्थित सडकमा ज.१ त ४८३२ नम्बरको ट्याक्टरले को.२४ प ४०१० नम्बरको मोटरसाइकललाई शनिबार दिउसो ठक्कर दिँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सोही ठाउँस्थित दुगरकोट बस्ने ५० वर्षीया श्यामदेबी मण्डललाई उपचारको लागि जनकपुर अंचल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुबै सवारी साधन र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरीरहेको छ ।
रौतहट फतुवाबिजयपुर नगरपालिका ५ सन्तपुरचोकमा ना.६३ प ३०२ नम्बरको मोटरसाइकल बिहीबार आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँस्थित मेवा टेङग्रा बस्ने ३५ वर्षीय राकेश यादबको न्यूरो अस्पताल बीरगंजमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
उता नवलपरासी (पूर्व), कावासोती नगरपालिका ८ पूर्वपश्चिम राजमार्गमा ना.६ ख ११९४ नम्बरको ट्रकले साईडमा रोकी राखेको ना.७ ख १०९९ नम्बरको ट्रकलाई शनिबार राति ठक्कर दिंदा ना.६ ख ११९४ नम्बरको ट्रकमा सवार दाङका १८ वर्षीय अनराम राखल मगर गम्भीर घाइते भएकाले प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका दाङ गोबर्दिया बस्ने २५ वर्षीय सुदिप राई र दाङ जुरौनी गाउँपालिका(१ बस्ने २३ वर्षीय विनोद लामालाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको प्रहरीले जनाएको छ ।
उदयपुर, रौतामाई गाउँपालिका ५ पोखरीस्थित सडकमा स.१ त ६२६८ नम्बरको ट्याक्टर शनिबार राति आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा सहचालक रुकुम सानोभेरी गाउँपालिका(२ पुर्तिङगाडा बस्ने २२ वर्षीय दिनेश चनको घट्नास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलाली, गोदावरी नगरपालिका २ महेन्द्रनगर रोडस्थित सडकमा से.१ च २०९४ नम्बरको स्कारपियोले शनिबार साँझ सोही ठाउँ बस्ने पैदलयात्री २७ वर्षीय अनुप साउदलाई ठक्कर दिँदा गम्भीर घाइते भएकाले पदमा अस्पताल अतरिया हुँदै थप उपचारको लागि भारतको बरेली लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । स्कारपियो सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै कास्की, पोखरा महानगरपालिका १७ ड्यामसाईडस्थित सडकमा युपी ६६ टि ००१९ नम्बरको बसका चालक भारतको बनारस बस्ने ३१ वर्षीय अनिल साहको शनिबार राति सवारी दुर्घटना हुँदा मृत्यु भएको छ । सोही ठाउँस्थित उक्त गाडी पार्किङ गरी होटलतर्फ फर्कने क्रममा गाडी अचानक गुड्न गएकोले अनिलले बसको पछाडिको भागबाट रोक्न खोज्दा सो बस पछाडि रहेको अर्को बसको बीचमा पर्न गई च्याप्पिएर गम्भीर घाइते भएका उनको नमस्ते अस्पताल हुँदै थप उपचारको लागि मणिपाल अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्