Logo
Logo

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा अक्सिजनको अभाव


दृष्टि संवाददाता


कर्णाली । कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्काले कोभिड–१९ का बिरामी सहित अन्य बिरामीका उपचार नियमित रुपमा भइरहेको बताएका छन् ।

पछिल्लो समयमा नयाँ भेरियन्ट सहितको सङ्क्रमणले अक्सिजन लिने वृद्धि हुँदा समस्या भइरहेका अवस्थामा पनि अन्य जटिल खालका बिरामीको पनि नियमित उपचार भइरहेको उनले जानकारी दिए ।

‘हामीलाई दैनिक ३०० अक्सिजन सिलिण्डरको आवश्यकता पर्छ । शुरुका दिनमा २०० सिलिण्डर थियो,’ उनले भने, ‘पछिल्लो समयमा अक्सिजनको हाहाकार बन्दै गयो ।’

नेपालगञ्जबाट भरेर ल्याएका सिलिण्डर त्यहाँका बिरामीका आफन्तले खोस्दा अक्सिजन अभाव बढेको र श्वासप्रश्वासका बिरामी थपिँदै उपचारमा आइलागेको समस्याले निकै सोच मग्न बनाएको उनले बताए ।

अक्सिजन नै सकिएपछि श्वास प्रश्वासका बिरामीहरुको मृत्युको कारुणिक दृश्य र आफन्तहरुको पीडा देख्न नपरोस् भनेर अस्पताल सेवादिन सक्ने अवस्थामा नरहेको भन्ने सूचना गर्नुपरेको उनको भनाइ थियो ।

उनले भने, ‘बिरामीको हित र सरकार सहित अन्य सरोकारवाला निकायलाई पनि झक झक्याउन सूचना गरेको हुँ । यसले नागरिकमा केही असर पारेपनि सरोकारवालाको गम्भीर ध्यानाकर्षणले अक्सिजनको जोहो भएर कोभिड बिरामीको उपचारमा सहयोग पुगेको छ ।’

प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी अस्पतालाई कोभिड विशेष अस्पताल भनिएपनि प्रतिष्ठान टाढा रहेको, चौरजहारीमा जनशक्ति र क्षमता कम भएकोले सुर्खेत मै बिरामीको चाप बढेको उनको भनाइ थियो ।

प्रदेश अस्पताल बाल रोग विभागका प्रमुख डा।नवराज केसीले गम्भीर खालका बिरामीमात्र आओस् भन्ने आशयले अस्पताल प्रशासनले सूचना गरेको बताए । कोरोनाबाट बालबालिकाहरुमा सामान्यप्रभाव देखिएपनि ठूलो असर नपरेको उनले बताए ।

गाउँमा स्वास्थ्यकर्मी, स्वयंसेवकआमा समूह र अन्य सरोकारवालाहरुले पनि यो अभियानमा खट्न सके ८० प्रतिशत बिरामी घट्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्