Logo
Logo

एक वर्षपछि नेपालमै गाडी उत्पादन ? ४० प्रतिशत सस्तो हुने


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ३ चैत ।
एक कोरियन कम्पनीले योजनाअनुसार काम गर्न पाएमा अबको एक वर्षभित्र नेपालमै चारपांग्रे गाडी उत्पादन हुने भएको छ । किया र हुन्डाई गाडीका पार्टस् उत्पादन र भित्री प्रणाली जडान गर्दै आएको दक्षिण कोरियाली कम्पनी मोट्रेक्स कम्पनी लिमिटेडले नेपालमै चारपांग्रे गाडी उत्पादन गर्ने प्रक्रिया अघि बढाएको छ ।


कम्पनीले नेपालमा १० अर्ब ५४ करोड रुपैयाँ लगानी भित्राएको छ । शुक्रबार लगानीको स्विकृति पाएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए । मोट्रेक्स कम्पनीले प्रस्ताव गरेको भेइकल म्यानुफ्याक्चरिङ एन्ड एसेम्ब्ली प्लान्टका लागि लगानी बोर्डबाट स्वीकृत भएको छ,’ उनले भने, ‘सन् २०२० को जनवरीभित्र प्लान्ट स्थापना गर्ने सर्तसहित लगानी स्वीकृत भएको हो ।’
कम्पनीले आद्योगिक मोतीपुर औद्योगिक क्षेत्रभित्रै प्लान्ट स्थापना गर्न अध्ययन गरिरहेको छ । उनका अनुसार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पहिचान गरेको औद्योगिक क्षेत्रमा प्लान्ट स्थापना गर्न कम्पनीले अध्ययन गरिरहेको छ । ‘औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडकै प्रस्तावमा लगानी बोर्डले सो औद्योगिक क्षेत्र विकासलाई पनि परियोजनाकै सूचीमा राखेको छ,’ उनले भने । कम्पनीले गाडी उत्पादनका लागि ‘ट्याक्स फ्रि’ तथा ‘ट्याक्स होलिडे’ जस्ता सुविधाको व्यवस्था गर्न माग गरिरहेको छ । ‘कम्पनीलाई के–कस्ता छुट तथा सुविधा दिन सकिन्छ भन्नेबारे बोर्ड छलफलकै क्रममा छ,’ उनले भने ।
२० हजार उत्पादन लक्ष्य

कोरियाली कम्पनी मोट्रेक्सले प्लान्टले स्थापनाको ५ वर्ष्भित्र क्रमिक रूपमा बढाउँदै वार्षिक २० हजार थान गाडी उत्पादन गर्ने लक्ष्य राखेको छ । त्यस्तै, प्लान्ट स्थापना गरेर पूर्ण क्षमतामा सञ्चालनमा आउँदासम्म वार्षिक ५० हजार थानसम्म गाडी उत्पादन गर्ने कम्पनीको तयारी छ । सुरुमा कम्पनीले सम्पूर्ण पार्टपुर्जा आयात गरेर नै नेपालमा गाडी एसेम्बल मात्र गर्नेछ । तर, क्रमशः नेपालभित्रै पार्टस्समेत उत्पादन गर्दै जाने अवधारणा कम्पनीको छ । ‘अन्य देशमा पनि सुरुमा प्लान्ट स्थापना गर्दा पार्टस्हरू आयात नै गर्ने चलन छ,’ सिइओ अधिकारीले भने, ‘क्रमशः आफैँले उत्पादन गरेर गाडीका धेरैजसो सामान आफैँले उत्पादन गर्ने गरिएको विश्व अभ्यास पाइन्छ ।’
गाडी ४० प्रतिशतसम्म सस्तो हुने
नेपालमा गाडी उत्पादन भएसँगै स्वदेशी बजारमा खपत हुनेरनहुने भन्ने अध्ययन कम्पनीले गरिरहेको छ । ‘प्रतिस्पर्धी मूल्य भयो भने नेपाल र छिमेकी मुलुकका बजारमा समेत सो गाडी खपत हुन सक्छ,’ सिइओ अधिकारीले भने, ‘नेपालमै उत्पादन गर्दा ४० प्रतिशतसम्म मूल्य कम हुने आकलन कम्पनीको छ । यसले गर्दा बजार पाउने विश्वास गर्न सकिन्छ ।’
कम्पनीले माग गरेअनुसार उसलाई ट्याक्स होलिडेलगायत सुविधा दिन सकेमा नेपालमा उत्पादन गर्ने गाडीको मूल्य कम हुन सक्ने विश्वास सिइओ अधिकारीको छ । ‘प्लान्ट स्थापना भएको केही समयपछि कम्पनीले विद्युतीय गाडी उत्पादन गर्ने अवधारणा अघि बढाएको छ,’ उनले भने, ‘विद्युतीय गाडी उत्पादन गर्ने र मूल्य प्रतिस्पर्धी हुने नेपालमा उत्पादन हुने गाडीले बजार पाउँछ ।’
कतिपयले भने सो कम्पनीको गाडी उत्पादनसम्बन्धि क्षमतामा प्रश्न उठाएका छन् । विगतमा गाडीका निश्चित पार्टपुर्जा मात्र बनाउँदै आएको सो कम्पनीले नै गाडी नै उत्पादन गरेको छैन । तर, पनि आफूहरुसँग अनुभवी टिम रहेको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्