Logo
Logo

कोरोनाबाट हालसम्म नेपालमा १५ जना पत्रकारको मृत्यु


दृष्टि संवाददाता

1.6k
Shares

काठमाडौं । नेपालमा हालसम्म कोरोनाबाट १५ जना पत्रकारको मृत्यु भएको नेपाल पत्रकार महासंघले जनाएको छ । यस्तै, आठ सय जना पत्रकारलाई कोरोना संक्रमण भएको छ ।

संक्रमितमध्ये ४० जनाको अस्पतालमा उपचार भइरहेको छ भने ८ जना भेन्टिलेटरमा उपचाररत रहेको महासंघका महासिचव रोशन पुरीले जानकारी दिए ।

अहिलेसम्म १४ पुरुष पत्रकार र एक महिला पत्रकारकाे कोरोनाबाट मृत्यु भएकाे महासंघले जनाएकाे छ । मृत्यु हुनेहरुमा बनारसी बर्मा, बिक्रम शाक्य, बिष्णु चौलागाईं, सिताराम बर्मा , महेन्द्र केसी, दामोदर अधिकारी, कमल मिश्र, सन्तन राउत, दिनेश दाहाल, मनोज चौधरी, गणेश पौडेल, रामा यादव, शान्तिराम कार्की, लक्ष्मण बस्नेत र हिक्मत चौधरी रहेका छन् ।

कोरोना संक्रमणको दोस्रो लहर नेपालमा बढेसँगै पत्रकारहरुको स्वास्थ्य सुरक्षाको विषय चुनौतीपूर्ण बनेको हो । कोरोना महामारीमा खटिने पत्रकार अझ बढी गम्भीर र सचेत हुन महासंघको आग्रह छ ।

संकटको समयमा स्वास्थ्य सुरक्षका मापदण्ड पूर्ण पालन गर्न आफ्ना सदस्यलाई आह्वान गरेको महासंघले संक्रमित पत्रकारको उपचारका लागि बेड तथा अक्सिजनको व्यवस्था गर्ने काम गरिरहेको महासचिव पुरीले जानकारी दिए ।

कोरोना संक्रमण भई उपचारको आवश्यकता भएका पत्रकारहरुका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउनसमेत महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्