Logo
Logo

अख्तियारभित्रै घुसकान्ड, इन्सपेक्टर बनेर असुल्ने असईविरुद्ध मुद्दा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ३ चैत ।
भ्रष्टाचारको अनुसन्धान गर्ने अख्तियारभित्रै घुसकाण्ड मच्चिएको छ । एक लाख घुस लिने क्रममा पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक जन्म अधिकारीले पटक पटक घुस लिएको खुलेको छ । उनीविरुद्ध आइतबार बिशेष अदालतमा तीन वटा मुद्दा दायर भएको छ ।

Commission for the Investigation of Abuse of Authority (CIAA) building. Photo: THT


एक महिनाअघि आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उनलाई घुस माग गरेको प्रमाणसहित पक्राउ गरेको थियो । घुस लिन गएको अवस्थामा उनी पक्राउ परेका थिए । आयोगमा अनुसन्धान भै रहेको मुद्दा तामेलीमा राखीदिने भनी घुस मागेका थिए । बाटो ग्रावेल गर्दा अनियमितता गरेको सम्बन्धमा परेको उजुरी कारबाही प्रक्रिया सहजीकरण गरी दिने भनी एक लाख रुपैयाँ डिल गरेका थिए ।
अनुसन्धानको क्रममा उनले विगतमा पनि घुस लिएको खुलेको छ । चन्दननाथ उच्च माध्यमिक विद्यालयका शिक्षक विरुद्ध आयोगमा शैक्षिक प्रमाणपत्र सम्बन्धी उजुरीमा उनले १४ हजार आठ सय रुपैयाँ घुस लिएको पुष्टि भएको आयागका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
आफूले नपाएको ओहोदा पाएं भनी अरुलाई विश्वासमा पारी बदनियतपूर्वक तरिकाले गैरकानूनी फाइदा लिने मनसायले अधिकारीले आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिनियर प्रहरी निरीक्षक हुँ भनी आफ्नो फेसबुकमा राखेकाले सो कसुरमा पनि उनीविरुद्ध मुद्दा दायर भएको छ ।

प्रतिक्रिया दिनुहोस्