Logo
Logo

पार्टी बिघटन हुनसक्ने झलनाथको चेतावनी


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ४ चैत ।
पार्टीको एकीकरण प्रक्रिया लम्बिरहेका बेला नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी विघटनको खतरा बढेको संकेत गरेका छन् । ढिलाईले पार्टीलाई बिघटनतर्फ लैजान सक्ने उनको भनाई छ ।


खनाल भन्छन्,‘हामीले पटक–पटक सचिवालय बैठक बोलाएर छलफल गर्नुपर्छ भन्दै आएका थियौँ । पछिल्लो छलफलमा प्रचण्ड कमरेड बाहिर जानुभन्दा पहिल्यै टुंग्याउने सहमतिसहित छलफल गरेका थियौँ । सचिवालय बैठक बोलाइहाल्ने, छलफल गर्ने कुरा भएको थियो । तर, बैठक बोलाइएन । आइतबार अमेरिका प्रस्थान गर्नुभएकाले अब उहाँ (प्रचण्ड) नभएका वेला टुंग्याउन अप्ठ्यारो भयो । एकीकरणमा अहिले भइरहेको ढिलाइले विस्तारै पार्टीलाई विघटनतिर लैजाने खतरा बढेको छ । त्यसैले सिद्धान्तनिष्ठ, वस्तुनिष्ठ र पद्धतिसम्मत ढंगले जतिसक्दो छिटो एकता टुंग्याइहाल्नुपर्छ । अन्यथा यस्तो ढिलाइले पार्टी विग्रहतिर जान्छ ।’
किन लम्बियो एकता ?

अध्यक्ष र सचिवहरूको सूची टुंग्याएर जिल्ला एकीकरणलाई पूर्णता दिने तयारी अन्ततः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूको स्वार्थले रोकिएको छ । अघिल्लो शनिबारभित्रै जिल्ला कमिटीको सूची सार्वजनिक गर्ने समझदारीसहित छलफल चले पनि नेताहरूको दाउपेचले रोकिएको हो ।

अध्यक्ष केपी ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समेत सहमतिमा सचिवालय बैठकबाट सूची अनुमोदन गर्ने योजनामा थिए । तर, वरिष्ठ नेता माधवकुमार नेपालको सहमतिविना सूची विवादमा पर्ने भन्दै ओलीको प्रस्तावलाई अस्वीकार गर्दै आएका प्रचण्ड पत्नी सीताको उपचारको सिलसिलामा आइतबार अमेरिका प्रस्थान गरेका छन् । कम्तीमा १० दिनपछि मात्र प्रचण्ड स्वदेश फर्किने भएकाले पहिलो चरणमा जिल्ला एकीकरण टुंग्याउने नेकपाको योजना धकेलिँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्