Logo
Logo

कांग्रेस नेताका छोरा–बुहारी बिग्रेपछि…


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाली कांग्रेसजस्तो अर्बपति नेताहरुले भरिएको पार्टीमा भीमबहादुर तामाङ अपवाद थिए । उनको स्वच्छ छवि र शालिनताको अहिले पनि धेरैले प्रशंसा गर्छन् । मृत्यु हुने बेलामा मृत्यु संस्कारलाई पुग्ने सम्पत्ति पनि तामाङसँग थिएन ।

त्यस्ता नेताका सन्तान पनि असल नै होलान् भन्ने धेरैलाई लाग्न सक्छ । तर, ठिकविपरीत तामाङका सन्तान भने वर्षाेदेखि ठगीको धन्दामा संलग्न छन् । उनका छोरा र बुहारीमात्र होइन नातिहरुसमेत विभिन्न अपराधमा मुछिएका छन् ।
उनकी बुहारी विमला तामाङ मेनपावरमार्फत ठगीको अभियोगमा तीन वर्षदेखि केन्द्रीय कारागारमा छिन् । उनका छोरा दीपक वर्षौदेखि फरार छन् । छोराले फरार भएकै अवस्थामा एक हजारभन्दा धेरैलाई ठगी गरेका छन् । तर, प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन । केही दिनअघि ललितपुर प्रहरीले उनीहरुविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।
ललितपुरको ग्वार्काेमा एउटै घरमा मेनपावर कम्पनी, सहकारी र एजुकेसन कन्सल्टेन्सीको चलाएर उनीहरुले विदेश पठाइदिने भन्दै ठगी गरेका हुन् । दृष्मा ओभरसिजमार्फत युरोपियन देश पोल्याण्ड पठाइदिने भन्दै उनीहरुले ठगी गरेको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध साढे पाँच करोड रुपैयाँ ठगी गरेको मुद्दा अदालतमा दायर भएको छ ।
प्रहरीले दृष्मा ओभरसिजका सञ्चालकमध्ये एक अरुणकुमार महतो र नबिल बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष तथा दृष्मा ओभरसिजका सञ्चालक हरिबहादुर लामा पक्राउ परी जेल चलान भइसकेका छन् भने अन्य प्रहरीको खोजीमा छन् ।
ठगीमा उनीहरुको नयाँ शैली के थियो भने विदेश पठाउने भनेर आफैँले पैसा लिएनन् । बरु सहकारीमा आफ्नै खाता खोलेर जम्मा गर्न लगाए । त्यो सहकारी पनि उनीहरुकै थियो । सञ्चालकहरु सबै परिवारका व्यक्ति मात्र थिए । जसकारण सहकारीमा जम्मा भएको सबै पैसा आफैँले लिए ।
पछि समयमा पोल्याण्ड पठाउन नसकेपछि उनीहरुले वैदेशिक रोजगारसम्बन्धी कागज पनि गरिदिए । मेनपावर कम्पनीले नै वैदेशिक रोजगारसम्बन्धी कागज गरिदिएपछि उनीहरु ढुक्क भएका थिए तर पनि उनीहरुको नियत ठगी गर्ने नै थियो ।
यो घटनामा दीपक र विमला आफू त संलग्न थिए नै साथै, छोरा सञ्जीवलाई समेत संलग्न गराएका थिए । सञ्जीव पनि हाल फरार छन् । उनीहरुले अन्य आफन्तहरुलाई समेत सहकारीको सञ्चालक बनाएर फसाएका छन् । अहिले उनीहरुमाथि साढे पाँच करोड ठगीको मुद्दा चलेको छ ।
६ वर्षअघि बुबाको निधन हुँदा किरियाखर्च समेत आफूसँग नभएको भन्दै कांग्रेसका नेताअगाडि दीपक रोएका थिए । नेता तामाङको काठमाडौँमा घर–जग्गा केही थिएन । राधेश्याम अधिकारीको घरमा दुई वटा कोठा लिएर उनी बस्दथे ।
बुबासँग सम्पत्ति नभएपछि उनले वास्ता नै गरेनन् । ठगीलगायत विभिन्न अपराधमा त्यसबेला नै उनी मुछिएका थिए । जसकारण अधिकांश समय भूमिगत बस्दथे । अहिले पनि भूमिगत अवस्थामै तीन वटा कम्पनी खोलेर ६ सय भन्दा धेरैलाई उनले बिचल्ली बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्