Logo
Logo

युवा नेताहरूले भने- ‘राष्ट्रपति र प्रधानमन्त्रीलाई कानुनी कठघरामा उभ्याइयोस्’


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाहीको बनाउन विपक्षी गठबन्धनसम्बद्ध युवा संगठनका नेताहरुले अपील गरेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल समूह), जसपा, राष्ट्रिय जनमोर्चा र विवेकशील साझा पार्टीका युवा संगठनहरुले संयुक्त विज्ञप्ति निकालेर उनीहरुले यस्तो अपिल गरेका हुन् । राजनीतिक र संवैधानिक हिसाबले राष्ट्रपति र प्रधानमन्त्रीलाई कारबाहीको वातावरण निर्माण गर्न अपीलमा भनिएको छ ।

उनीहरुले भनेका छन्, ‘पटकपटक संविधानको हत्या गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीलाई यथाशिघ्र कानुनी कठघरामा उभ्याउन माग गर्दछौं । यस्तो अक्षम्य अपराधमा संलग्न भण्डारी तथा ओलीलाई पदमुक्त भइसकेपश्चात समेत कारवाही गर्ने वातावरण राजनीतिक तथा संवैधानिक हिसाबले समेत निर्माण गर्न अपिल गर्दछौं ।’

विज्ञप्तिमा भनिएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सुरुदेखि नै पूर्वाग्रह राख्ने ओलीले संवैधानिक संकट निम्त्याउने आफ्नो प्रयत्नलाई एक कदम अगाडि बढाएका छन् । यो उनको २०७७ पुष ५को असफल संसद विघटनको निरन्तरता मात्र हो,’ विज्ञप्तिमा लेखिएको छ, ‘ओली वास्तवमा नेपाललाई संवैधानिक संकटको व्यवस्था सिर्जना गर्दै सिक्किमीकरणको दिशामा लान उद्यत छन् ।’

‘सबै मिलेर कोभिड–१९ ले निम्त्याउने संकटको निवारण गर्ने समयमा चुनावको नाटक गर्दै चालिएको असंवैधानिक कदमको हामी निन्दा गर्दछौं,’ उनीहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा लेखिएको छ ।

कांग्रेस सम्बद्ध नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, माओवादी केन्द्र सम्बद्ध वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा, युवा संघ नेपाल (माधव नेपाल समूह) का अध्यक्ष नरेश कुमार शाही, जसपाको समाजवादी युवा संघका अध्यक्ष योगेन्द्र राय यादव, राष्ट्रिय जनमोर्चाको अखिल नेपाल युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरे र विवेकशील साझा पार्टीको युवा संगठनका अध्यक्ष अब्दुस मियाले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्