Logo
Logo

दलित साहित्यसम्बन्धी गोष्ठी आयोजित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । गत शुक्रवारका दिन प्रज्ञा–प्रतिष्ठानमा ‘दलित साहित्य लेखनको वर्तमान अवस्था र भावी दिशा’ विषयक विचार गोष्ठी आयोजना गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानद्वारा संयुक्तरूपमा आयोजित कार्यक्रममा बोल्दै प्रज्ञा–प्रतिष्ठानका कुुलपति गङ्गाप्रसाद उप्रेतीले गोष्ठी सार्थक भएको दाबी गर्नुभयो । कुलपति उप्रेतीले भन्नुभयो, “दलित सम्बन्धी समस्या वा विषयलाई साहित्यमा ल्याउन दलित स्रष्टा नै लाग्नु पर्छ । त्यो नै सबैभन्दा प्रभावकारी हुन्छ ।”

प्रज्ञा–प्रतिष्ठान, समालोचना र निबन्ध विभागका प्रमुख प्राज्ञ प्रा.डा. गोपिन्द्र पौडेलको सभापतित्वमा सम्पन्न उक्त गोष्ठीमा सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रममा डा. बुद्धि नेपालीले ‘दलित साहित्य लेखनको वर्तमान अवस्था र भावी दिशा’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले साहित्यमा दलितको सीप, कला र सौन्दर्यको सम्मान गर्दै दलित पात्रलाई नायकपात्रका रूपमा प्रस्तुत गरिएमात्रै न्याय हुने विचार व्यक्त गर्नुभएको थियो । कार्यपत्रमाथि निनु चापागाईं र हीरा विश्वकर्माले समीक्षा गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष रणेन्द्र बरालीले दलित समुदायलाई राज्यले प्रयोग मात्रै गर्ने गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “दलित समुदायको सीप र कलाको दोहन गरिएको छ तर राज्यबाट लाभ पाउने कुरामा सकेसम्म परै पारिएको छ । यो सरासर गलत र अन्यायपूर्ण छ । आफ्नो हकअधिकारका लागि दलित समुदायका लेखकहरूले सङ्गठित रूपमा लाग्नुपर्ने आजको आवश्यकता हो ।” कार्यक्रममा संस्थाका उपाध्यक्ष डम्बर पहाडीले पनि बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्