Logo
Logo

सिद्धबाबा सुरुङमार्ग ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य


दृष्टि संवाददाता



काठमाडौं । विगत ८ वर्षदेखि चर्चामै सीमित रहेको सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डमा पर्ने सिद्धबाबा सुरुङमार्गको निर्माण अघि बढाउन सरकारले टेण्डर आह्वान गरेको छ । ५ वर्षभित्र निर्माण गर्ने लक्ष्यअनुसार सडक विभागले शनिवार ग्लोबल टेण्डर आह्वान गरेको हो । अबको ४५ दिनभित्र स्वदेशी तथा विदेशी निर्माण कम्पनीले सो आयोजना निर्माणका लागि टेण्डर हाल्न पाउनेछन् ।

उक्त सडकखण्डमा सुरुङमार्ग बनाउने योजना आर्थिक वर्ष २०७५र७६ को नीति तथा कार्यक्रममा घोषणा गरिएको थियो । त्यति बेला सुरुङमार्ग सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँचवर्षे रणनीतिसमेत बनाएको थियो । उक्त नीतिको ३ वर्षपछि बल्ल सुरुङमार्ग बनाउन विभागले टेण्डर आह्वान गरेको छ । सामान्यतया सडकरराजमार्गको दूरी घटाउन सुरुङमार्ग बनाउने गरिन्छ । तर, यस सडकखण्डमा भने दूरी घटाउने भन्दा पनि वर्षेनि पहिरोबाट हुने जनधनको क्षति रोक्ने उद्देश्यले बनाउन लागिएको विभागका अधिकारीको भनाइ छ ।

विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख डा। विजय जैसीले २ वर्षअघि नै स्वीस डेभलपमेन्ट कर्पोरेशनले प्रारम्भिक डिजाइन तथा प्रतिवेदन विभागलाई दिइसकेको र सोही आधारमा विभागले विभिन्न प्यारामिटर राखेर सुरुङमार्गको टेण्डर निकालिएको जानकारी दिए । ‘निर्माण कम्पनीले ५ वर्षभित्र सुरुङमार्ग बनाएर नेपाललाई हस्तान्तरण गर्नुपर्छ,’ उनले भने, ‘ईपीसी मोडलमा ठेक्का भएकाले तोकिएकै समयमा सुरुङमार्ग बन्ने लगभग सुनिश्चित छ, कम्पनीले कुनै कारणले आयोजनाको म्याद लम्ब्याए मूल्य वृद्धिअनुसार थप लागत भने पाउँदैन, उसले नै खर्चनुपर्ने हुन्छ ।’ तर, कुनै प्राकृतिक भवितव्य भएमा भने आयोजनाको म्याद र लागत पनि थप्नुपर्ने अवस्था आउने उनको भनाइ छ ।

‘अहिले विभागसँग भएको आधारभूत डिजाइनलाई नै आधार मानेर नयाँ डिजाइन तथा लगानी निर्धारण हुने भएकाले तत्काल लगानी एकिन गरिएको छैन,’ जैसीले भने, ‘अर्थले १० अर्ब १५ करोडको सीमा दिएकाले त्यहीभित्र रहेर ठेक्का निकालिएको हो ।’ निर्माण व्यवसायीले बिड हालेपछि मात्रै कति लगानी आवश्यक पर्छ भन्ने एकिन हुने उनको भनाइ छ । अबको ३ महीनापछि निर्माण कम्पनी छनोट हुने र त्यसपछिको ९ महीनाभित्र छनोट भएको कम्पनीले विभागलाई डिजाइन पेश गर्नुपर्ने बताइएको छ ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्