Logo
Logo

मालीको सेनाले लियो राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई नियन्त्रणमा


दृष्टि संवाददाता


काठमाडौं । पश्चिमी अफ्रिकी मुलुक मालीको सेनाले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई नियन्त्रणमा लिएको छ । गत भदौमा निर्वाचित राष्ट्रपतिलाई राजीनामा दिन बाध्य पारेको मालीको सेनाले सोमबार अन्तरिम सरकारका राष्ट्रपति बाह एनडअ, प्रधानमन्त्री मोक्तार ओउने र रक्षामन्त्री सोउलेमेन डोउकोरेलाई नियन्त्रणमा लिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

समचार अनुसार उनीहरूलाई राजधानी बामाकोबाट लगेर काटीस्थित सेनाको गणमा राखिएको छ । सरकार पुनर्गठन हुँदा सेनाका दुई उच्च अधिकारीहरूको पद फेरिएको केही घन्टामै सेनाले उनीहरूलाई नियन्त्रण लिएको हो ।

यसअघि गत भदौमा सेनाले तत्कालीन राष्ट्रपतिलाई नियन्त्रणमा लिएर राजीनामा दिन बाध्य पारेको थियो । सेनाको नयाँ कदमले उत्तरी क्षेत्रमा अलकायदा र इस्लामिक स्टेटले ठूलो क्षेत्र नियन्त्रणमा राखेको मालीमा थप अस्तव्यस्तता ल्याउने देखिएको छ ।

मालीस्थित संयुक्त राष्ट्र संघीय मिसन र अन्य अन्तर्राष्ट्रिय समुदायले नियन्त्रणमा राखिएकाहरूलाई तत्काल बिनासर्त रिहा गर्न भनेका छन् । राष्ट्रपति बाह एनडअ, प्रधानमन्त्री मोक्तार ओउने सरकारलाई १८ महिनासम्म अन्तरिम सरकार चलाउने र चुनाव गरेर नागरिक शासन फिर्ता ल्याउने जिम्मेवारी दिइएको थियो ।

यो बीचमा उनीहरूको सेनासँग असन्तुष्टि बढेको थियो। मुख्य पद सेनाले आफ्नो नियन्त्रणमा राख्न थालेपछि उनीहरू असन्तुष्ट थिए । राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई नियन्त्रणमा लिएर सेनाले यसपालि के गर्न खोजेको भन्ने स्पष्ट भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्