अनुदानको अक्सिजन सिलिण्डरमा वनमन्त्रीको तस्बिर, सोसल मिडियामा बन्यो भाइरल « Drishti News – Nepalese News Portal
Logo

अनुदानको अक्सिजन सिलिण्डरमा वनमन्त्रीको तस्बिर, सोसल मिडियामा बन्यो भाइरल


दृष्टि संवाददाता



काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेम आलेमगरले गृहजिल्ला डोटीमा वितरण गरेको स्वास्थ्य सामग्रीमा आफ्नो टाँसेको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

मन्त्री आलेले गृहजिल्ला डोटीमा हेलिकोप्टरमार्फत नै पुगेर कोभिड १९ नियन्त्रणका लागि स्वास्थ्य सामाग्री वितरण गरेका थिए । जिल्ला अस्पताल डोटी, जिल्लाका ९ वटा स्थानीय तह, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पत्रकार र शिक्षकका लागि स्वास्थ सामाग्री उनले वितरण गरेका हुन् ।

मन्त्री आलेले अनुदानमा चीनबाट ल्याइएको अक्सिजन सिलिण्डरमा पनि व्यक्तिगत लगानी भनेर पोस्टर टाँसेका स्वास्थ्य सामग्री अहिले सोसल मिडियामा ट्रोल बनिरहेको छ । मन्त्री आलेले डोटीमा वितरण गरेका अक्सिजन सिलिण्डरदेखि औषधिका प्याकेटमा पनि आफ्नो तस्बिर टाँसेका छन् । उनले चीनबाट अनुदानमा ल्याएर स्वास्थ्य सेवा विभागले दिएका अक्सिजन सिलिण्डरमा पनि आफ्नै तस्बिर टाँसेका हुन् ।

कतिले यसलाई चर्को आलोचना गर्दै सेयर गरेका छन् भने कतिले गिज्याएका छन् । मन्त्री आलेको निजी सचिवालयमा कार्यरत प्रशासन सहायक भक्त आलेले भने स्वास्थ्य सेवा विभागले दिएका सिलिण्डरमा पनि अक्सिजन फिलिङ मन्त्रीको व्यक्तिगत खर्चबाट गरिएकोले तस्बिर टाँसिएको बताएका छन् । जहाँ लेखिएको छ, ‘नेपाल सरकारका माननीय वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामाग्री ।’

जिल्ला अस्पताल डोटीलाई ३० वटा अक्सिजन सिलिण्डर, १० लिटर सेनिटाइजर, १२ वटा एचडियु बेड, ३० हजार सर्जीकल मास्क र एन्टिजेन किट वितरण गरिएको मन्त्री आलेको निजी सचिवालयमा कार्यरत प्रशासन सहायक भक्त आलेको भनाई छ । उनले त्यस्तै जिल्लाका नौँ स्थानीय तहलाई पाँच पाँच वटा अक्सिजन सिलिण्डर, दुई दुई वटा एचडियु बेड र पाँच पाँच हजार सर्जिकल मास्क र जिल्लाका विभिन्न वडालाई एक हजारका दरले ६५ हजार मास्क वितरण गरिएको बताए ।

‘डोटीका लागि ७५ र कैलालीका लागि ५० वटा अक्सिजन सिलिण्डर वितरण गर्दैछु । त्यसमा १५ वटा स्वास्थ्य सेवा विभागले दिएको हो । बाँकी एक सय १० वटा मैले आफ्नै रकमले खरिद गरेको हुँ ।’ स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै मन्त्री आलेले भने । कोभिड भाइरसको नियन्त्रणमा सरकार प्रतिबद्ध रहेको रहेको उनले दाबीसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्