Logo
Logo

किन सधैं विवादित बनिरहन्छन् मध्यपुरका मेयर मदनसुन्दर ?


- दृष्टि न्युज/संवाददाता



श्रेष्ठ–ज्ञवालीबीच द्वन्द्व, मेयरको कार्यशैली तानाशाही भयो : उपप्रमुख
भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठ र प्रमुख प्रशासकिय अधिकृत कमल ज्ञवालीबीच सतहमै देखिनेगरि द्वन्द्व बढ्दै गएपछि नगरपालिकाको काम कारवाही शंकाको घेरामा परेको छ । एक साताअघि नगर प्रमुखको कार्यकक्षमा प्रदेश सांसद राजेन्द्रमान श्रेष्ठकै उपस्थितीमा दुईजनाबीच भनाभन र हात हालाहालको स्थिती सिर्जना भएपछि आन्तरिक द्वन्द्व सतहमा आएको हो ।

आफ्नो मानमर्दन गरेको र योजनाहरु असफल पार्न लागिपरेको आरोप प्रमुख श्रेष्ठको छ भने नियम विपरित योजनाहरु सञ्चालन गरेर जवजस्ती योजना स्विकृत गराउन दबाब दिएको आरोप प्रमुख प्रशासकिय अधिकृतको छ । जनताद्वारा निर्वाचित नगर प्रमुख र कार्यकारी अधिकार प्राप्त बिशिष्ट श्रेणीका कर्मचारीबीचको विवादले नगरपालिकाभित्र केही गलत कामहरु भइरहेको छ भन्ने संकेत गरेको छ । अहिले ज्ञवाली मन्त्रालयमा हाजिर हुन थालेका छन् भने मेयर श्रेष्ठ अर्को प्रमुख प्रशासकिय अधिकृतको खोजीमा छन् । यो विवादपछि कार्यकारी प्रमुख ज्ञवाली कुनै पनि हालतमा मध्यपुरमै फर्कने र नगर प्रमुखका गलत काम रोक्ने भन्दै सरुवा रोक्न लागिपरेका छन् भने कुनै हालतमा सरुवा गराएर छोड्ने नगर प्रमुखको अडान छ । नगरपालिकाका कार्यकारी अधिकार प्राप्त जनप्रतिनिधी र कर्मचारीबीचको विवादपछि कर्मचारीहरु र जनप्रतिनिधिहरु समेत दुई खेमामा विभाजित बनेका छन् । मेयर श्रेष्ठले कार्यकारीको पक्षमा लाग्ने कर्मचारी र जनप्रतिनिधिलाई समेत कारवाही गर्ने चेतावनी दिएको नगरपालिकाका प्रवक्ता एवम् वडा नं. २ का अध्यक्ष राम थापामगरले बताउनुभयो । प्रवक्ता थापाले भन्नुभयो, ‘अहिलेको घटनालाई लिएर नगर प्रमुखले तत्काल नगरकार्यपालिकाको आकस्मित बैठक बोलाएर के भएको हो सबै जानकारी गराउनुपथ्र्यो, तर उहाँले त्यसो गर्नु भएन । आफुखुशी मन्त्रालय गएर कार्यकारीको सरुवा गराएको प्रचार गर्नुभयो । यदि कार्यकारी सरुवा नै गरेको हो भने तत्काल अर्को कार्यकारीको व्यवस्था गर्न सक्नुप¥यो अन्यथा अहिलेकै कार्यकारीले जिम्मेवारी पाउनुपर्छ ।’
‘मेयरले कार्यकारीको पक्षमा लाग्ने जनप्रतिनिधिलाई समेत कारवाही गर्ने चेतावनी दिएको सुनेको छु’ वडाअध्यक्ष थापामगर भन्नुभयो, ‘हेरौं कसरी कारवाही गर्ने हिम्मत गर्नु हुँदोरहेछ ।’ मेयरको अहिलेको कार्यशैलीका कारण जतिसुकै कार्यकारी फेरेपनि अवस्था उस्तै रहने प्रवक्ता थापामगरको भनाई छ ।
मेयर–कार्यकारीबीचको द्वन्द्वपछि अहिले कमेरोटार जग्गा एकिकरण आयोजनाका प्रमुख पनि फेरिएका छन् । आयोजना प्रमुखमा सत्यसुन्दर श्रेष्ठलाई प्रमुख श्रेष्ठले फाल्गुण २९ गते करारमा नियुक्त गरेका हुन् । आयोजना प्रमुखमा नियुक्त सत्यसुन्दर अनियमितता मुद्दामा इन्जिनियरिङ्ग काउन्सिलले लाइसेन्स खारेज गरिदिएका व्यक्ति भएको प्रवक्ता थापामगरको दावी छ । विवादित व्यक्तिलाई नियुक्त गरेर मेयर श्रेष्ठ फेरी अर्को विवादमा मुछिएका छन् ।

किन विवादमा आइरहन्छन मेयर मदनसुन्दर ?

मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ निर्वाचित भएदेखि नै विवादित छन् । नेकपा एमालेबाट मेयरमा निर्वाचित भएपनि नगरसभा र नगर कार्यपलिकामा दुई तिहाईको संख्या नेपाली कांग्रेसले जितेको छ । मेयर पदलाई नै सर्वोपरी ठानेका श्रेष्ठले त्यसबेला आफ्नो अधिकार र हैसियत थाहा पाए जुनबेला आफुले प्रस्ताव गरेका योजना तथा कार्यक्रमहरु एकपछि अर्को गर्दै नगर कार्यपालिका बैठकबाट अस्विकृत हुन थाल्यो । नगर कार्यपालिकाबाट योजना अस्विकृत भएपछि मेयर श्रेष्ठले आफु खुशी मनोमानी योजना तथा कार्यक्रमहरु सञ्चालन गर्न थाले । यसको बिरोधमा नगर कार्यपालिका सदस्यहरुले बिरोध र आन्दोलनका कार्यक्रमहरु सञ्चालन गरे । मेयर श्रेष्ठले नगरपालिकाद्वारा सञ्चालित एम्बुलेन्स कार्यपालिका निर्णय विनै कोरिया नेपाल मैत्री अस्पताललाई हस्तान्तरण गरे । एकलौटी यो निर्णयले कार्यपालिका बैठक नै अवरुद्ध हुने गरि विवाद सिर्जना भयो । विवादपश्चात एम्बुलेन्स पुनः नगरपालिकामै फर्काउने निर्णय भयो । पछि कार्यपालिका बैठकले नै एम्बुलेन्स अस्पताललाई दिने निर्णय गयो । यो घटनाले मेयर श्रेष्ठको धज्जी उडाउने काम भयो । त्यो घटनाको केही समयपछि नगरपालिकाले स्थापना दिवस मनाउने निर्णय ग¥यो । कांग्रेसबाट निर्वाचित उपप्रमुख, वडा अध्यक्ष र सदयहरुले कार्यक्रम सञ्चालनको प्रक्रियाप्रति असन्तुष्टि जनाउदै कार्यक्रम बहिस्कारको घोषणा गरे । अन्ततः नगरपालिकाको स्थापना दिवस कांग्रेस निकट जनप्रतिनिधिहरु र एमाले निकट जनप्रतिनिधिहरुले गत बर्ष चैत्र २१ र २२ गते छुट्टाछुट्टै रुपमा मनाए । यो बर्ष पनि चैत्र १४ गते नगरपालिकाको ३३औं स्थापना दिवस मनाउनका लागि वडा नं. २ का अध्यक्ष राम थापामगरको संयोजकत्वमा समिति गठन गरिएको छ तर, नगर प्रमुखले स्थापना दिवस मनाउने तयारीका सम्बन्धमा समन्वय नगरेको र आफुखुशी निर्णय गर्दै हिडेको वडा अध्यक्ष थापामगरको गुनासो छ ।
चन्दा नदिएको भन्दै विप्लव माओवादीका कार्यकर्ताद्धारा मेयर श्रेष्ठमाथि २०७५ बैशाख ८ गते आक्रमण भयो । उनको उपचार मध्यपुर अस्पतालमा गरियो । उपचारपश्चात ५ दिनपछि अस्पतालले घरमै आराम गर्नेगरि डिस्चार्ज ग¥यो । तर, मेयर श्रेष्ठले पदको दुरुपयोग गर्दै नगरपालिकाले सञ्चालन गरेको कोरिया नेपाल मैत्री अस्पतालमा पुनः भर्ना भई सान्त्वना प्राप्त गर्न नेता, कार्यकर्ता भेट्ने थलोका रुपमा प्रयोग गरेको आरोप कर्मचारीहरुले लगाएका छन् । आफुमाथि आक्रमण हुँदा समेत प्रधानमन्त्री तथा नेकपा नेता केपी शर्मा ओली भेट्न नआएको भन्दै मेयर श्रेष्ठ आजसम्म पनि रुष्ट छन् ।
८ महिनाअघि बोडे खानेपानी योजना सञ्चालन गरि गठ्ठाघर, बालकुमारी र थिमिमा खानेपानी विस्तार गर्न खोज्दा स्थानीय बासीन्दाले बोडेबासीलाई नै पानीको हाहाकार भएको अवस्थामा अन्यत्र खानेपानी बिस्तार गर्न खोजेको भन्दै मेयर श्रेष्ठलाई कालो झण्डा देखाउदै लखेटेका थिए ।

प्रत्यासीसँग सहकार्य, उपप्रमुखलाई वहिष्करण
नगरसभा तथा कार्यपालिकामा आफ्नो अल्पमत भएपछि कार्यकाल असफल हुने देखेका मेयर श्रेष्ठले मेयरका प्रत्यासी कांग्रेस नेता अष्टकुमार कवेसँग समर्थनका लागि आग्रह गरे । उनको साथ र सहयोगपछि उनले कार्यपालिकामा बहुमत प्राप्त गर्ने अवस्था बन्यो । नेता कवेको समर्थन र निर्देशन अनुरुप नै नगरपालिकाका कामहरु सञ्चालन हुन थाल्यो । तर, कांग्रेसकै अर्को गुटबाट उपप्रमुखमा निर्वाचित अञ्जनादेवी मधिकर्मीलाई निर्णय प्रक्रियाबाट अलग गराउने कार्य हुन थाल्यो । नगरपालिकाकै अधिकांश कार्यक्रममा उपप्रमुख मधिकर्मी बहिष्करणमा पर्न थालिन् । संविधानले व्यवस्था गरेको अधिकार बाहेक मधिकर्मीलाई भूमिकाविहिन बनाउने कार्य गरिएको उपप्रमुख मधिकर्मीको गुनासो छ । उपप्रमुख मधिकर्मीले मेयरको कार्यशैली तानाशाही भएको भन्दै यस्तो कार्य नरोके बिरोधमा उत्रने बताउनुभयो । अहिले उपप्रमुख मधिकर्मी र कांग्रेसका अन्य जनप्रतिनिधिहरु एउटै गुटमा छन् । मेयरले योजना बाँडफाँडमा एकलौटी र मनोमानी गरेको भन्दै कांग्रेसबाट निर्वाचित सबै जनप्रतिनिधिरु अहिले एक भएका हुन् । मेयर श्रेष्ठले आफ्नो वडा ४ नं. अन्र्तगतको बालकुमारीमा मात्र आ.ब. ०७५÷०७६ को फाल्गुणसम्ममा १५ करोड रुपैयाँ योजना र बजेट मनोमानी ढंगबाट खर्च गरेको प्रवक्ता थापामगरले बताउनुभयो । उपभोक्ता समितिमार्फत विनियोजन गरिएको योजनामा पनि आफुखुशी बजेट थप गरेको उहाँले बताउनुभयो ।

सांसद बस्नेतसँग टकराव, फकाउने कसरत

नगर प्रमुख बनेपछि पार्टी तथा नेतृत्वसँग समन्वय नगरेको र मनोमानी काम गरेको भन्दै नेकपा र नेताहरुसँग पनि श्रेष्ठको सम्बन्धमा चिसोपना छ । स्थानीय तहको निर्वाचनमा मध्यपुर थिमि नगरपालिकाको उम्मेदवारका लागि टिकट दिलाउने नेकपा नेता तथा प्रतिनिधि सभा सांसद महेश बस्नेतसँग मेयर श्रेष्ठले पानी बाराबारको व्यवहार गर्ने गरेका छन् । सांसद विकास कोषबाट बस्नेतले मध्यपुर थिमिका लागि छुट्टयाएको बजेटको काम नगर्ने र उक्त योजनालाई समेत असफल बनाउने खेलमा लागेको सांसद बस्नेतको गुनासो छ । संविधानले नै स्थानीय सरकारका २२ वटा अधिकार सुनिश्चित गरेकाले केन्द्रिय सरकार र प्रदेश सरकारका सबै निर्देशन, परिपत्रहरु पालना गर्न र कार्यान्वयन गर्न बाध्य नहुने अभिव्यक्ति मेयर श्रेष्ठले दिने गरेका छन् । सांसद बस्नेतकै नेतृत्वमा सञ्चालन भइरहेको हनुमन्ते सफाई महाअभियानको बिरोध तथा बहिष्कारको नीति श्रेष्ठले अंगिकार गरेका छन् भने ४ अर्बको निर्माण योजना रहेको र हाल ८१ करोडको ठेक्का सम्झौता गरि निर्माण कार्य भइरहेको हनुमन्ते करिडोरको बिपक्षमा समेत उभिएका छन् श्रेष्ठ । नेकपा एमालेबाटै जिसस प्रमुल गेलालसँग पनि मदनसुन्दरको बानी बाराबारको स्थिती छ । गेलाल सहभागि कार्यक्रमहरुमा सहभागि नहुने घोषणा नै गरेका छन् श्रेष्ठले । काठमाडौं उपत्यका विकास प्राधिकरणले कमेरोटार जग्गा एकिकरण आयोजनाको व्यवस्थापन समितिबाट नगर प्रमुखलाई हटाएर जिसस प्रमुखलाई नियुक्त गर्ने निर्णय ग¥यो । तर, प्रमुख गेलालले आफ्नै पार्टीबाट निर्वाचित मेयरसँग सम्बन्धमा चिसोपना बढाएर समितिमा बस्न नहुने भन्दै प्राधिकरणको निर्णय अस्विकार गरे । यहि बहानामा रुष्ट बनेका श्रेष्ठले जिसस प्रमुख गेलालसँग पानी बाराबारको सम्बन्ध राखेका छन् । जिसस प्रमुख गेलालले मेयर श्रेष्ठको स्वभाव नै नेतृत्व लिने र समझदार राजनीतिक चरित्र देखाउन सक्ने खालको नभएको बताउनुभयो । मेयर श्रेष्ठको यहि हर्कतका कारण नेकपाले उनलाई कारवाही गर्ने तयारी समेत गरिरहेको नेकपाले जनाएको छ ।
अहिले प्रमुख प्रशासकिय अधिकृतसँगको मनमुटाव पछि श्रेष्ठ सांसद बस्नेत फकाउने कसरतमा जुटेका छन् । सांसद बस्नेतको फोर्समा कार्यकारी पुनः नगरपालिकामै फर्कन सक्ने त्रासका कारण मेयर श्रेष्ठ सांसद बस्नेत फकाउने कसरतमा लागेका हुन् । सोही कारण मेयर श्रेष्ठले सञ्चालन गरेको शंखधर मेमोरियल स्कुलको गत शनिबारको एक कार्यक्रममा बस्नेतलाई प्रमुख अतिथि बनाए भने हिजो आइतबार नगरपालिकाले आयोजना गरेको सांस्कृतिक नगरी मध्यपुर थिमि गुरुयोजना तर्जुमा शुभारम्भ कार्यक्रममा बिशेष अतिथि बनाए तर, आइतबारको कार्यक्रममा सांसद बस्नेत सहभागि भएनन् ।

अस्पतालभित्रको विवाद
मेयर श्रेष्ठ निर्वाचित भएर आएदेखी नै नगरपालिकाद्धारा सञ्चालित कोरिया नेपाल मैत्री अस्पताल समेत विवादित बनेको छ । मन्त्रालय एवं स्वास्थ्य सेवा विभागमा अहिलेसम्म पनि कोरिया नेपाल मैत्री अस्पतालको नाम रहे पनि मेयरले जबरजस्ती नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको नाम राखेदेखी नै विवाद तानिएका हुन् भने अहिले दर्ता विना नै फार्मेसी सञ्चालन गरेपछि अर्को विवादमा मुछिएका छन् । नगरपालिकाले अस्पताल सञ्चालन गर्ने भन्दै आ.ब. ०७५÷०७६ मा १ करोड रकम बिनियोजन गरेको छ । तर, मेयर मदनसुन्दरले नगरपालिकाका उपप्रमुख अन्जनादेवी मधिकर्मीलाई अस्पताल सञ्चालक समितिको सदस्य वा आमन्त्रित सदस्य समेत नराखेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएकी छन् । मेयर मदन सुन्दरले आफ्ना नातेदार पर्ने पाटन अस्पतालका आईसियू इन्चार्ज रहेका ज्ञानकृष्ण कायस्थलाई अस्पतालको कार्यकारी निर्देशक नै बनाएपछि व्यापक रुपमा बेथिति बढ्दै गएको कर्मचारीको भनाई छ । कायस्थले अस्पतालमा अनावश्यक कर्मचारी पनि थपेको गुनासो बढेको छ । उनले अफिस असिस्टेण्ड १४ जना, ल्याबमा र डाक्टरमा गरि ८० कर्मचारी करारमा भर्ना गरेर अस्पतालाई करोडौको भार बोकाएका छन् । नगरपालिका प्रवक्ता थापामगरले मेयर र कायष्थको मनोमानीका कारण अस्पतालमा बेथिति बढ्दै गएको स्विकार गरे । अस्पताललाई भर्तिकेन्द्र बनाएको र अस्पतालमाथिको विकृतिमा सुधार नगरे बन्द हुने अवस्था आउने थापागगरको भनाई छ । अस्पतालमा अहिले कन्सल्टेण्ड डाक्टर मात्रै ४८ जना भन्दा रहेको बताउँछन् कर्मचारी । लेखा र स्टोरमा मेयर आफैले दुई कर्मचारी थपेका छन् । फार्मेसीमा विमाका औषधि नपाइने, कर्मचारीलाई समेत औषधिमा फार्मेसीले छुट नदिने, विरामीलाई पनि छुट नदिने र सस्ता कम्पनीका औषधि ल्याएर राखेको कर्मचारी बताउँछन् ।

मेयर श्रेष्ठ संकटमा
प्रमुख प्रशासकिय अधिकृतको विवादपछि मेयरलाई समर्थन गरेको कांग्रेस रुष्ट बनेको छ । नगरको विकासका लागि समन्वय नगरी एकलौटी गरेको र कार्यकारीलाई पनि गलत कार्य दबाब दिएकै कारण विवाद भएको हुनसक्ने भन्दै मेयर–कार्यकारी विवादको तथ्य बाहिर ल्याउनुपर्ने जनप्रतिनिधिहरुको माग छ । कार्यपालिकामा सहयोग गर्दै आएका कांग्रेसका जनप्रतिनिधि रुष्ट बनेर श्रेष्ठबिरुद्व लाग्ने अवस्था बनेमा मेयर फेरी एकपटक संकटमा पर्नेछन् । अहिलेको समिकरण पनि धरापमा पर्नेछ । मध्यपुर थिमि नगरपालिकाका प्रवक्ता एवम् २ नं. वडा अध्यक्ष राम थापाले अहिलेको कार्यकारीलाई सरुवा गराएर जानुभन्दा विवाद समाधान गर्नतर्फ लाग्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्