Logo
Logo

पहिलोपटक शेयरमा लगानी गर्दै प्रधानमन्त्रीले भने, ‘मौरीले जस्तै जनताको लगानी बढाएर देश समृद्ध बनाउन सकिन्छ’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका साना साना पूँजी संकलित गरेर ठूला आयोजनामार्फत आफ्नो मुलुक आफैँ बनाउन सकिने बताएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा १० हजार कित्ता शेयरका लागि आवेदन दिएर शेयरको शुभारम्भ गरेपछि उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओली शेयरमा लगानी गरेको यो पहिलोपटक हो ।
‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी’ भन्ने नारासहित जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत ‘त्रिशूली बी’को शेयर आवेदन शुभारम्भपछि प्रधानमन्त्री ओलीले भने, ‘मौरीले फूलको रस ल्याएर चाका बनाएजस्तै ठूला आयोजनामा जनताको लगानी बढाएर देशलाई स्वाधीन र समृद्ध बनाउन सकिन्छ ।’
उनले नेपाल ऊर्जाको धनी देश भएको भन्दै पानीको सदुपयोग हुन नसकेको अवस्थामा यस्ता आयोजना सफल बनाउनुपर्ने धारणा व्यक्त गरे । उनले भने, ‘यसमा सहभागी हुन स्वदेश र विदेशमा रहेका सबै नेपालीलाई म आग्रह गर्दछु ।’ प्रधानमन्त्री ओलीले विकासका लागि कसैसँग हात नथापी यस्ता आयोजनालाई नमूनाको रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्