Logo
Logo

शुक्रबारदेखि कोरियन भाषा परीक्षा आवेदन फारम खुल्दै


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ७ चैत । रोजगार अनुमति प्रणाली ‘ईपीएस’अन्तर्गत सन् २०२० का लागि कोरियन भाषा परीक्षाको आवेदन फारम शुक्रबारदेखि खुला हुने भएको छ ।
१८ वर्ष पूरा भएर ३९ वर्ष ननाघेकाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिन सक्नेछन् । यसपटक पनि अनलाइनबाटै फारम भर्न सकिने जनाइएको छ ।
वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले सुरुआतका दिनमा हतारिएर फारम भर्नका लागि बैंकमा रकम तिर्न लाइन नबस्नु सुझाव दिएको छ । यस वर्षबाट आईएमई–पे र ई–सेवाबाट पनि २४ डलर बराबरको शुल्क भुक्तानी गर्न सकिने छ ।
रोजगारीका लागि आकर्षक गन्तव्य भएका कारण धेरै आवेदन पर्ने गरेको छ । रकम जम्मा गरेको कोड राखेपछि मात्रै अनलाइन फारम भरेर ‘सब्मिट’ गर्न सकिनेछ भने मेसिन रिडेबल पासपोर्ट ९एमआरपी० अनिवार्य हुनेछ ।
इन्टरनेट सेवाको पहुँचमा रहेका युवाले सहज रुपमा घरमै बसेर पनि फारम भर्न सक्नेछन् । नेपालबाट सन् २००८ देखि इपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् । आकर्षक कमाइ हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या उच्च छ । यही १७ चैतसम्म ईपीएस परीक्षाको आवेदन फारम भर्न सकिनेछ । एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउनेछन् । भोलिदेखि आवेदन खुलेपछि अनलाइन फारम भर्न eoers.epsnepal.gov.np  मा जानुपर्छ । परीक्षाको नतिजा १३ असारमा प्रकाशित हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्