Logo
Logo

किन मनाइयो गणतन्त्र दिवस जंगी अड्डामा


दृष्टि संवाददाता


काठमाडौं । सरकारले यो वर्ष गणतन्त्र दिवसको कार्यक्रम सैनिक मुख्यालयमा आयोजना गरेको छ । विगतका वर्षमा सहिद मञ्च टुँडिखेलमा आयोजना हुँदै आएको कार्यक्रम यस वर्ष नेपाली सेनाको मुख्यालयस्थित अडिटोरियम हलमा आयोजना गरेको हो ।

यसले नेपाली सेनामाथि सरकारको परनिर्भरता बढ्दै गएको आशंका व्यक्त गर्न थालिए पनि गणतन्त्र दिवस आयोजक गृह मन्त्रालयले प्रतिकूल मौसमका कारण सैनिक मुख्यालयमा कार्यक्रम गर्नुपरेको दाबी गरेको छ । ‘हामीले टुँडिखेलमै कार्यक्रम आयोजना गर्ने तयारी गरेका थियौं तर निरन्तर पानी परेपछि स्थान परिवर्तन गर्नुपरेको हो,’ गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले भने । वर्षका कारण बाहिर कार्यक्रम गर्नसक्ने अवस्था नभएपछि सैनिक मुख्यालयको हलमा कार्यक्रम आयोजना गरिएको उनले बताए ।

नेपाली सेनाले भने कार्यक्रम आयोजना गृह मन्त्रालयले गरेकाले यसबारे गृह मन्त्रालयलाई नै जानकारी हुने जनाएको छ । सेनाले गृह मन्त्रालयले गणतन्त्र दिवसको कार्यक्रम मनाउनका लागि हल उपलब्ध गराउन आग्रह गरेपछि उक्त हल उपलब्ध गराएको जनाएको छ । पछिल्लो समय बढ्दो कोरोना महामारीले निम्त्याएको स्वास्थ्य संकट र प्रधानमन्त्री ओली आफैंले निम्त्याएको राजनीतिक संकटबीच स्वास्थ्य संकटकाल लगाउन सक्नेगरी ल्याइएको अध्यादेशपछि कतिपयले सरकारका गतिविधिमाथि आशंका गर्न थालेका छन् ।

अध्यादेशमा सेना परिचालनको व्यवस्थासमेत भएकाले कतै प्रधानमन्त्रीले त्यसको दुरूपयोग त गर्ने होइनन् भन्ने आशंकाबीच गणतन्त्र दिवससमेत सैनिक मुख्यालयमा गरिएकाले यसलाई चासोका साथ हेरिएको हो । तर आयोजक गृह मन्त्रालयले भने प्रतिकूल मौसमबाहेक अन्य कुनै कारण नरहेको जनाएको छ । कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश लगायत उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्