Logo
Logo

महामारीबीच ब्राजिलभरि लाखौंले गरे प्रर्दशन, राष्ट्रपतिलाई महाअभियोग लगाउन माग


दृष्टि संवाददाता


काठमाडौं । दक्षिण अमेरिकी मुलुक ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोविरूद्ध महाअभियोग लगाउनु पर्ने माग उठेको छ । कोरोना महामारी नियन्त्रणमा लापरबाहीपूर्ण तरिकाले काम गरेको भन्दै राष्ट्रपति बोल्सोनारोविरूद्ध महाअभियोग लगाउनु पर्ने माग उठेको हो ।

कोरोना महामारीलाई सुरूदेखि नै हलुका ढंगले लिइरहेका बोल्सोनारोलाई महाअभियोग लगाउनु पर्ने माग राखेर शनिबार ब्राजिलभरि लाखौं मानिसहरूले प्रदर्शन गरेका छन् । दुई सय बढी सहरमा बोल्सोनारोविरुद्ध प्रदर्शन भएको हो ।

शनिबारको प्रदर्शन कोरोना महामारी सुरू भएपछि बोल्सोनारोविरूद्ध भएको पहिलो ठूलो प्रदर्शन हो । रिओको प्रदर्शनमा सहभागी ५५ वर्षीया अधिकारकर्मी सिल्भिया डी मेन्डोन्काले भनिन्, ‘आज बोल्सोनारोको नरसंहारकारी प्रशासनलाई हराउने निर्णायक दिन हो,’

कोरोनाका कारण आफन्त गुमाएकाहरूले उनीहरूको सम्झनामा हातले लेखेका नाराहरू बोकेर प्रदर्शनमा सहभागी भएका थिए । ‘हामी अरू धेरै ब्राजिलियनहरूको जीवन गुमाउन चाहन्नौं। यो सरकार नढलेसम्म हामी हरेक दिन सडकमा आउनु पर्छ,’ कोरोनाबाट आफ्ना भाइ गुमाएका ४८ वर्षीय ओस्भाल्डो बाजानी डा सिल्भाले भ ने।

समाचारमा जनाइए अनुसार ब्राजिलमा कोरोनाबाट अहिलेसम्म ४ लाख ६० हजार मानिसले ज्यान गुमाएका छन् । अमेरिकापछि महामारीको सबैभन्दा धेरै चपेटामा परेको मुलुक ब्राजिल हो । राष्ट्रपति बोल्सोनारोले सुरूदेखि नै यो सामान्य फ्लू भएको बताउँदै आएका थिए । उनले भौतिक दूरी कायम गर्ने र लकडाउन गर्ने कुराको सधैँ विरोध गरेका थिए। उनले आफूले कोरोनाभाइरसविरूद्धको खोप पनि नलगाउने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्