Logo
Logo

सरकारका मन्त्री होइन मन्त्र फेरौं


- दृष्टि न्युज/संवाददाता



अहिले ओली सरकारको मन्त्रीमण्डल परिवर्तन गर्ने हल्ला चलिरहेकोछ । लगानी सम्मेलन पछि मन्त्रीहरु केही परिवर्तन भएर नयाँ आउने हल्ला व्याप्त छ । प्रधानमन्त्री ओलीले दिवंगत मन्त्री रवीन्द्र अधिकारीको खाली ठाउँमा मात्र मन्त्री नियुक्त गरिने वताउनु भएपनि नेकपाका अर्का अध्यक्ष प्रचण्डले र नेता माधव नेपालले मन्त्रीहरु फेर्न सकिने वताउनु भएवाट मन्त्रीहरु हेरफेर हुने हल्लाले वजार लिएको हो ।

मन्त्री परिवर्तनको हल्ला चलाइनुको पछाडि विभिन्न कारण हुन सक्छन् । असन्तुष्ट नेताहरुले यस्तो हल्ला गर्नुको अर्थ आफ्नो मान्छेहरुलाई मन्त्री पद दिलाउने हुने गर्दछ । अहिलेका आफ्नो कोटावाट मन्त्री भएकाहरुले आफुलाई नटेरेपछि पनि ठुला नेताहरुले यस्तो हल्ला चलाउने र आफुले भने अनुसार काम गर्न दवाव दिने गर्दछन् । त्यतिले नभएमा आफ्नो कोटाको मन्त्री नै फेर्दछन् । आफ्नो कोटा वढाउन पनि यस्तो हल्ला चलाउने गर्दछन् । कुनै नेताहरु जनताले भने अनुसार काम नभएकोले मन्त्री फेरेर हुन्छ कि भनेर पनि यस्तो प्रयास गर्दछन् ।

पार्टीको संस्थापन पक्षले यस्तो समाचार संचार माध्यममा दिंदा भने मन्त्रीहरुलाई संस्थापन पक्षको नीति अनुसार काम गर्न दवाव दिने उद्देश्य रहेको हुन्छ । त्यो राम्रो काम पनि हुन सक्दछ र संस्थापन पक्षको गुटगत स्वार्थ वा व्यक्तिगत स्वार्थ पुरा गर्न पनि हुन सक्दछ ।

अहिले जनता र देशले जे जस्ता समस्याहरु भोगी रहेका छन्, त्यसको उपचार भने केही मन्त्री फेरिंदैमा समाधान हुने देखिन्न । मन्त्री होइन सरकारको मन्त्र नफेरी सरकारले जनपक्षीय कामहरु गर्ने सम्भावना छैन ।

सरकारको मन्त्र भनेको सरकारका नीति तथा योजना र सिद्धान्त तथा विचारधारा हो । सरकारको नीति तथा योजनाहरु जनपक्षीय नभए सम्म प्रधानमन्त्री नै फेरिएपनि देश उस्तै रहनेछ ।

ओली प्रचण्ड उपेन्द्र गठवन्धन सरकारले बैज्ञानिक समाजवादी मन्त्र लिने कि काल्पनिक समाजवादी वा दलाल पूँजीवादी मन्त्र लिने ? कम्युनिष्ट मन्त्र लिने कि कांग्रेस वा पंच मन्त्र लिने ? मुखमा रामराम वगलीमा छुरा मन्त्र लिने कि मुखमा पनि रामराम वगलीमा पनि रामराम मन्त्र लिने ? मुखमा कम्युनिष्ट मन्त्र, व्यवहारमा भ्रष्टाचार मन्त्र भयो भने जुन जोगी आएपनि कानै चिरेका हुने उखान यहाँ पनि लागु हुनेछ ।

यसरी मन्त्री परिवर्तनको हल्ला चलाउनृुको नकारात्मक परिणाम भनेको हुनु पर्ने अलिकति काम पनि नहुने स्थिति आउन सक्दछ । मन्त्री परिवर्तनको हल्ला पछि प्रशासनले मन्त्रीलाई टेर्न छोड्यो भन्ने समाचार आउनुले राम्रो संकेत गर्दैन ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्