Logo
Logo

बजेट कार्यान्वयन हुनेमा शंका नगर्न अर्थमन्त्रीकाे आग्रह


दृष्टि संवाददाता


काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले बजेट कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह गरेका छन् । आगामी आर्थिक बर्ष २०७८/ ७९ का लागि सरकारले ल्याएको अनुमानित आय–व्यय बजेटका सम्बन्धमा आइतबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेल कार्यान्वयन गर्ने योजना, प्रतिबद्धता र संकल्पका साथ बजेट आएको स्पष्ट पार्दै आइतबारबाटै बजेट कार्यान्वयन गर्ने गरी अघि बढेको बताएका हुन् ।

कार्यक्रममा मन्त्री पौडेलले भने, ‘यो बजेट केबल सुनाउनका लागि होइन, कार्यान्वयन गर्नका लागि बजेटमा उल्लेख गरिएका लक्ष्य हासिल गर्नका लागि ल्याइएको हो भन्ने म विश्वस्त दिलाउन चाहन्छु,’ उनले भने, ’कोभिड महामारीको नियन्त्रण रोकथाम र उपचारमा नै केन्द्रित हुनुपर्थ्यो र त्यसैअनुरुप बजेट केन्द्रित गरिएको छ । ’

मन्त्री पौडेलले अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने विषयमा बजेट केन्द्रित भएको र ती समस्या समाधानका लागि स्पष्ट योजना र दृष्टिकोणका साथ प्रस्तुत भएको बताए । आर्थिक क्षेत्रमा देखिएका चुनौतीको सामना गर्दै अर्थतन्त्रलाई पुरानै लयमा फर्काएर अर्थतन्त्र चलायमान बनाउँदै समृद्धिको सपना साकार पार्ने प्रतिबद्धता पनि उनले जनाए ।

उनले सरकारले संविधान बमोजिम पूर्णबजेट ल्याएको बताए । जेठ १५ मा बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्थाबाट सरकार पन्छिन नमिल्ने उनको भनाइ छ ।

‘योभन्दा अर्को वैधानिक विकल्प थिएन । यस्तो संकटको घडीमा कामचलाउ बजेट मात्र ल्याएर देश र जनताप्रतिको जिम्मेवारीबाट हामी पन्छिन मिल्दैनथ्यो,’ उनले भने ।

सरकारले महामारीलाई ध्यानमा राखेर नै बजेटमा कर छुटको व्यवस्था तथा राहातको कार्यक्रम प्रस्तुत गरेको अर्थमन्त्रीको भनाइ थियो । ‘ मतदातालाई रिझाउन नभई सरकारले जनता तथा राष्ट्रको जिम्मेवारी पूरा गर्नका लागि बजेट ल्याएको हो’, पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्