Logo
Logo

भन्सार छलीका सामान बरामद


दृष्टि संवाददाता



धनगढी । कन्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ । सशस्त्र प्रहरीबल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोर्डर आउट पोष्ट पचुई, बयलबन्दा, दोधाराचाँदनी, झिलमिला र थापा चोकबाट खटी गएका पैदल सीमा गस्ति टोलिले भन्सार छली ल्याइएका सामान बरामद गरेको हो ।

सीमा इलाकामा गस्ती गर्ने क्रममा निषेधाज्ञा उल्लघंन गरी अबैध रुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको चार लाख ६६ हजार एक सय ४० मुल्य बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरले जनाएको छ ।

भन्सार छली ल्याइएका चिनी, किराना सामान, मल, बिउभिजन, मैदा प्लाष्टिक, खेत जोत्ने हैरो, माछा र मोटरसाइकलसहितको सामान बरामद गरिएको जनाइएको छ ।

बरामद गरिएको माछा पशु क्वारेन्टाईन कार्यालय बेलौरी र अन्य सामान आवश्यक कानुनी कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यस्तै लागुऔषधसहित कञ्चनपुर प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको टोलीले वेदकोट नगरपालिका–७ को लालपुरबाट लागुऔषध खैरो

हिरोइनसहित सोही ठाउँका २५ वर्षीय प्रविन चौधरीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले चौधरीको साथबाट ०.२७ ग्राम खैरो हिरोइन बरामद गरिएको जानकारी दिए ।

उनलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्