Logo
Logo

निर्माण व्यवसायी महासंघको नजरमा बजेट सकरात्मक


दृष्टि संवाददाता


काठमाडौं । कोभिड–१९ को महामारी बीच जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर सार्वजनिक गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटलाई नेपाल निर्माण व्यवसायी महासङ्घले सकारात्मक भनेको छ ।

महासङ्घका महासचिव रोशन दाहालले सोमबार विज्ञप्ति जारी गर्दै बजेट वक्तव्यमार्फत् महासङ्घले लामो समयअघि देखि उठाउँदै आएका केही महत्वपूर्ण माग सम्बोधन भएको उल्लेख गरेका हुन् ।

महासङ्घले मागको अक्षरशः कार्यान्वयनका लागि सरोकार भएका निकायको ध्यानाकर्षण गराई निर्माण व्यवसायीको तर्फबाट गर्नुपर्ने कार्यान्वयनका लागि समेत महासङ्घ पूर्ण प्रतिबद्ध रहेको भन्दै बजेटको स्वागत गरेको हो ।

निर्माणको म्याद थप आंशिक रुपमा छ महिनामात्र थप गरिने, बैङ्क जमानत पेश गरेपछि ५०५ धरौटी रकम फिर्ता गरिने, कोभिडका कारण म्याद थप गर्नुपर्ने बैङ्क जमानत नवीकरणको कमिशन नलाग्ने, आयकर ऐन २०५८, मुल्य अभिबृद्धि कर ऐन, २०५२ र अन्तशुल्क ऐन, २०५८ बमोजिम २०७६ साल असार मसान्तसम्मको बक्यौता रहेको कर रकम र सोमा लागेको ब्याज रकम २०७८ पुस मसान्तभित्र दाखिला गरेमा शुल्क, जरिवाना तथा थप दस्तुर मिनाह हुने लगायतका बुँदा बजेटका सकारात्मक पक्ष भएको महासङ्घको विज्ञप्तिमा उल्लेख छ ।

मूल्य अभिबृद्धि करको खरिद बिक्री खाता प्रत्येक वर्ष कर अधिकृतबाट प्रमाणित गर्नुपर्ने हालको व्यवस्था हटाइनु, करदाताको करयोग्य कारोबारमा प्रयोग भएको डिजेल र एलपी ग्याँसको खरिदमा तिरेको मूल्य अभिवृद्धि कर कट्टी गर्न पाउने, निर्माण सामग्री खरिदमा तिरेको ढुवानी भुक्तानी खर्च बिल नभए पनि भुक्तानीमा कर कट्टी गरेको भए खर्चमा समावेश गर्न पाइने, निर्माण व्यवसायीको क्षमता अभिवृद्धि गर्न निर्माण व्यवसायी विकास कोषको परिचालन सही भएकाे ठहर छ ।

आव वर्ष २०७५÷७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका कम्पनी तथा फर्मले २०७८ साल असोज मसान्तभित्र विवरण र शुल्क तथा जरिवानाको १० प्रतिशत रकम बुझाएमा बाँकी शुल्क तथा जरिवाना मिनाहा, निर्माण श्रमिकको एकमुष्ट बीमा गरिने बुँदा पनि स्वगतयोग्य रहेको महासङ्घको भनाई छ ।

तर, निर्माण व्यवसायीको अर्बौँ भुक्तानी रोकिँदा त्यसको नकारात्मक प्रभाव कोभिड–१९ ले थलिएको समग्र अर्थतन्त्रमा परेको तथ्य जगजाहेर हुँदाहुँदै भुक्तानी उपलब्ध गराउने विषयमा बजेट वक्तव्यमा केही उल्लेख नहुनु उचित नभएको महासङ्घको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्