Logo
Logo

संक्रमित घट्दै, निको हुने बढ्दै


दृष्टि संवाददाता



काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले सोमबार पछिल्ला चार महिनाको कोरोना भाइरस संक्रमण हुने दर सार्वजनिक गरे । जसअनुसार वैशाख पहिलो साता पीसीआर परीक्षण गराएकामध्ये २६.२ प्रतिशतमा पोजिटिभ देखिएको थियो भने यो दर वैशाख अन्तिम साता ४९.४७ प्रतिशत पुग्यो ।

जेठ दोस्रो साता संक्रमण दर २०.५४ प्रतिशतमा झरेको छ । टेकु अस्पतालमा जस्तै अन्यत्र गराइएको पीसीआर जाँचमा पनि संक्रमण फेला पर्ने दर घट्दै गएको देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना महामारीको दोस्रो लहर उच्च भएको वैशाख अन्तिम साता पीसीआर गरेकामध्ये ४४।२१ प्रतिशतमा संक्रमण देखिएको थियो । जेठ पहिलो साता भने ३९ प्रतिशतमा संक्रमण पाइयो ।

जेठ दोस्रो साता यो दर अझ घटेर ३७.२२ मा आयो भने पछिल्ला तीन दिनको औसत दर ३० प्रतिशत छ । सोमबार देशभरि १७ हजार ४ सय ८० जनाको पीसीआर र एन्टिजेन परीक्षण गराउँदा ४ हजार ७ सय ६२ जना अर्थात् २७.२४ प्रतिशत मात्रै पोजिटिभ देखिएको छ । सोमबारको तथ्यांकमा केही ठूला अस्पताल र प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्ट भने समावेश छैन ।

कोरोना महामारीको ‘हटस्पट’ बनेको बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालका फिजिसियन डा। राजन पाण्डेले डेढ सातादेखि संक्रमित आउने क्रम घटेको बताए । ‘अहिले बिरामीले बेड पाउँछन् । अस्पतालको करिडोर, टेन्ट र एम्बुलेन्समै राखेर उपचार गर्नुपर्ने अवस्था छैन,’ उनले भने ।

उनका अनुसार पछिल्लो समय नेपालगन्जमा संक्रमित घटेका छन् तर गाउँबाट गम्भीर भएर आउने बढेका छन् । ‘तर केही साताअघिको जस्तो बेड र अक्सिजन नपाउने समस्या छैन,’ उनले भने ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्