Logo
Logo

चौकिदार र वहादुर भन्दैमा किन रिसाउने ?


- दृष्टि न्युज/संवाददाता



भारतमा नेपालीहरुलाई हेर्ने दृष्टिकोण कस्तो रहेछ भन्ने कुरा अहिले भारतको चुनावी अभियानमा नेताहरुले गरेका टिप्पणीहरुले स्पष्ट गरेकोछ ।

गत साता आम आदमी पार्टीकी नेतृ अल्का लाम्बाले एक ट्वीट गरिन् जसमा भनिएको थियो—“ प्रिय भारतवासी, कृपया यसपटक प्रधानमन्त्री चुन्नु होला, चौकिदार त नेपालवाट पनि मगाउन सकिन्छ, किनकि नेपालका चौकिदार चोर हुँदैनन् ।” यसवारे नेपालमा विविध कोणवाट आलोचना भएपछि उनले माफि मागेर उक्त ट्वीट हटाइन् ।

तर के चौकिदार नेपालवाट पनि मगाउन सकिन्छ भन्नु नेपालको अपमान गरेको हो ? नेपालवाट गएका हजारौं चौकिदार भारतमा काम गरिरहेकै छन् । लाखौं चौकिदार अन्य देशमा गएकै छन् । तब किन रिसाउने ?

भारतीय प्रधानमन्त्री मोदीले आफ्नो चुनावी अभियानको यस समयमा आफुलाई चौकिदार नरेन्द्र मोदी भनेर ट्वीटरमा नाम फेरेका छन् ।

नेपालीहरुलाई भारतमा वहादुर भनेर पनि वोलाइने गरिन्छ । वहादुर भनेर वोलाइनाको कारण नेपालीहरु वीर भएर अथवा लडाकू भएर होइन । भारतमा नेपाली युवाहरुले सजिलैसंग पाउने रोजगारी चौकिदारको हो । भारतका ठुला शहरहरुमा नेपाली चौकिदारहरुले सुरक्षा दिने गरेको धेरै भइसक्यो ।

यही चौकिदारी गर्नेहरुलाई वहादुर भनेर भारतका ठुला शहरहरुमा वोलाइने गरिन्छ । साथै कयौं प्रतिष्ठित भारतीय नेता उद्योगपति तथा सिने कलाकारहरुका घरमा पनि नेपाली चौकिदार रहेको पाइन्छ ।

चौकिदारलाई गरिवीका कारण हेला गर्ने चलन रहेपनि उनीहरु आफ्नो काम प्रति इमान्दार हुन्छन् भन्ने छाप भारतीय समाजमा रहेकोछ । केही चौकिदार काम गर्नेहरुले वदमासी गरेपनि आम रुपमा नेपाली चौकिदारहरुले इमान्दारीका साथ आफ्नो काम गर्दछ र आफ्नो ज्यानको वाजी राखेर उनीहरुको सुरक्षा दिने गर्दछ भन्ने छाप भारतीय समाजमा रहेकोछ ।

हाम्रो मुख्य समस्या त आफ्नो देशमा छ । नेपाली राज्यसत्ताका ठुला नेताहरु अर्थात शासक वर्गको जनघाती र देशघाती कामहरुले गर्दा नेपाल र नेपालीहरुको तीब्र आर्थिक विकासमा वाधा पुगिरहेकोछ ।

हामीलाई चौकिदारको देश भनेर कसैले भन्यो भन्दैमा उनीहरु संग रिसाउने होइन कि वरु नेपालीहरुलाई विदेशमा चौकिदारी गर्न वाध्य वनाउने यहाँको शासक वर्ग संग रिसाउने र उनीहरुलाई तहलगाउने काम गर्नु सबै नेपालीको कर्तब्य हो ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्