Logo
Logo

ढुवानीमा अवरोध नगर्न गृह मन्त्रालयको निर्देशन


दृष्टि संवाददाता



वीरगञ्ज । सीमावर्ती भन्सार र उद्योग प्रतिष्ठानबाट मालसामान ओसार्ने साधनलाई ढुवानीका क्रममा राजमार्गमा अवरोध नगर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । यसअघि सरकारले कोरोना महामारी नियन्त्रणका लागि भन्दै अत्यावश्यकीय वस्तु तथा सेवावाहेक अन्य सामग्रीलाई काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको थियो ।

भन्सारबाट जाँचपास भएर भित्रिएका र औद्योगिक उत्पादन बोकेका गाडी काठमाडौं उपत्यका प्रवेश गर्न पाएका थिएनन् । काठमाडौं उपत्यकाका जिल्लामा कोरोना संक्रमण तीव्र बढेपछि कडाइ गरिएको थियो ।

गृह मन्त्रालयले बुधवार मातहतका २० ओटा जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेर ढुवानी सहजीकरण गर्न निर्देशन दिएपछि यो समस्या समाधान भएको छ । झापा, मोरड, बारा, पर्सा, रूपन्देही, कपिलबस्तु, बाँकेलगायत मुख्य नाका र राजमार्गमा पर्ने जिल्ला प्रशासनलाई ढुवानीका साधनलाई गन्तव्यसम्म जान र फर्किने सहज व्यवस्था मिलाउन भनिएको छ ।

सरकारले खाद्यान्न, औषधि, उपचार सामग्री तथा उपकरणलगायत २१ वस्तुबाहेक अन्य वस्तुको ढुवानीमा रोक लगाएको थियो । भन्सारबाट निस्किएका ढुवानी साधनलाई प्रहरीले बाटोमा रोक्ने गरेको थियो ।

करीब १ हप्तासम्म कन्टेनर र ट्रक ढुवानीमा विलम्ब शुुल्क ९डिटेन्सन० तिर्नु परेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए । ‘सरकारी निर्देशनले नाका र राजमार्गमा ढुवानीका साधनलाई रोकिँदा औद्योगिक कच्चा पदार्थ र उत्पादनको आपूर्ति प्रभावित भएको थियो । गृह मन्त्रालयले सहजीकरणको निर्देशन दिएकाले निकास मिलेको छ,’ वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गुप्ताले भने ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्