डेढ अर्बभन्दा बढीको धानको बीउ आयात « Drishti News – Nepalese News Portal
Logo

डेढ अर्बभन्दा बढीको धानको बीउ आयात


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा यस वर्षका रोपाइका लागि १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको धानको बीउ आयात भएको छ । बीउ आयातकर्ता कम्पनीहरूले भारत र चीनबाट विभिन्न किसिमका हाइब्रिड ९वर्णसंकर० जातका धानका बीउहरू आयात गरेका हुन् ।

बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार २४ आयातकर्ता कम्पनीहरूले यस वर्षका लागि आवश्यक पर्ने १ अर्ब ६१ करोड १८ लाख ९८ हजार रुपैयाँको कुल ४ हजार १ सय ४९ मेट्रिक टन धानको बीउ आयात गरेका हुन् ।

यूएस ३ सय १२, च्याम्पियन, राजा, महाराजा, साँवामन्सुली, सुधा, शान्तिलगायत ४६ प्रकारका धानका बीउ आयात भएका छन् । यसरी आयात गरिएकामध्ये ३९ ओटा जातका बीउ भारत र बाँकी सातओटा जात चीनबाट आयात भएको केन्द्रका वागबानी अधिकृत विकास खरेलले आर्थिक अभियान दैनिकलाई जानकारी दिए ।

सावित्री, सोनामन्सुली, मकवानपुर, बास्मतीलगायत धानको बीउ नेपालमै उत्पादन हुन्छ । व्यवसायीहरूले भारत र चीनबाट वर्णसंकर बीउहरू आयात गर्ने गर्छन् । खरेलका अनुसार परिमाणको हिसाबले पनि चीनभन्दा भारतबाट बढी मात्रामा बीउ आयात हुने गरेको छ । यस वर्ष भारतबाट ३ हजार ९ सय ६१ मेट्रिकटन बीउ आयात भएको छ भने चीनबाट जम्मा १ सय ८८ मेट्रिक टन बीउ आयात भएको भएको छ ।

आयातका लागि कम्पनीहरूले स्वीकृति लिने तथा धानको बीउ आयात हुने क्रम जारी रहेको बताइएको छ । अब बीउ राख्नेभन्दा पनि किसानहरूले बीउ राखेर धान रोप्नतिर लाग्ने भएकाले आयात भइहाले पनि सानो परिमाणमा मात्र आयात हुन सक्ने खरेलले बताए ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्