Logo
Logo

खाद्यान्न र ग्यासमा २० प्रतिशत छुट


दृष्टि संवाददाता


काठमाडौं । निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री वितरण गर्ने खाद्यान्न र खाना पकाउने ग्यासमा शुक्रबारबाट २० प्रतिशत छुट दिने भएका छन् । सरकारले उपभोक्तालाई राहत दिन आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्फत सो व्यवस्था गरेकामा उक्त व्यवस्था शुक्रबारबाट लागू गरिने भएको हो ।

नयाँ व्यवस्था कार्यान्वयनको विषयमा बिहीबार अर्थ मन्त्रालयमा ती कम्पनीका प्रमुखबीच भएको छलफलपछि उक्त निर्णय कार्यान्वयनमा आएको जनाइएको छ । यो योजना निषेधाज्ञा अवधिसम्म मात्रै लागू हुनेछ । गत वर्षको बजेटमा पनि दुई कम्पनीले वितरण गर्ने खाद्यान्नमा १० प्रतिशत छुटको व्यवस्था गरिएको थियो ।

दुई सरकारी कम्पनीले हाल चामल, दाल, चिनी, नुन, गेडागुडी, तेल र एसटीसी ग्यासलगायतका सामान बेच्दै आएका छन् । खाद्य कम्पनीले छ प्रकारका चामल र कर्णालीको सिमीमा सरकारले तोकेको २० प्रतिशत छुट दिनेछ । साल्ट ट्रेडिङले पाँच जनासम्मको परिवारका लागि ग्यास ९एसटीसी० एउटा, चिनी दुई केजी र नुन दुई केजी, भटमास तेल एक लिटर, दुई केजीको पिठोमा छुट दिनेछ ।

खाद्य कम्पनीका कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले सरकारले बजेटमार्फत दिने भनेको छुट योजनाअनुसार कम्पनीले शुक्रबारदेखि नै चामल र कर्णालीको सिमी बिक्री गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार कम्पनीले सोना मन्सुली चामल, जिरा मसिनो (स्टिम), स्टिम रज्जित, मध्यम मकवानपुरे चामल र कर्णालीको सिमीमा छुट दिने छ ।

“खाद्यान्न कम्पनीले हाल तेल, डीडीसीको घिउ, साल्ट ट्रेडिङको ग्यास ९एसटीसी०, दाल, पिठोलगायतका थुप्रै सामान बिक्री गर्दै आएको छ,” कार्यकारी अधिकृत चन्दले थप्नुभयो “तर सबैमा हामी त्यो छुट दिन सक्दैनौँ । हामी आफूले खरिद गरेको सामानमा मात्रै छुट दिने तयारी गरेका छौँ ।”, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्