Logo
Logo
कोरोना कहर

उपत्यकामा निषेधाज्ञा आजदेखि खुकुलो, के-के खुल्यो ?


दृष्टि संवाददाता


काठमाडौं । केही खुकुलो बनाएर १० दिन थपिएको निषेधाज्ञा काठमाडौं उपत्यकामा आजबाट लागू भएको छ । एक साताका लागि जेठ १४ गतेदेखि किराना पसलहरु समेत बन्द गरेर कडा निषेधाज्ञा गरिएकोमा आजदेखि भने केही सेवा चल्न दिनेगरी नयाँ व्यवस्था गरिएको हो ।

अब काठमाडौं उपत्यकामा बिहान ९ बजेसम्म किराना लगायत केही पसल खुला गर्न पाइने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए ।

तरकारी, फलफूल, दूध, मासु, खानेपानी लगायत सेवा एवं किराना पसल बिहान ९ बजेसम्म खोल्न पाइने भएको छ । डिपार्टमेन्टल स्टोरमा भने ग्रोसरीमात्र खोल्न दिइने छ । राति ९ बजेदेखि बिहान ९ बजेसम्मको लागि निर्माण सामग्रीको ढुवानीका साधनहरू सञ्चालनको अनुमति दिइएको हो ।

काठमाडौंमा बैंक तथा वित्तीय संस्थाको हकमा प्रधान कार्यालय र ३ वटा शाखा वाणिज्य बैंकले, विकास बैंकले प्रधान कार्यालय र २ वटा शाखा, वित्त कम्पनीले प्रधान कार्यालय र एक वटा शाखा खेलेर सेवा दिन पाउने भएको छ ।

अत्यावश्य बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान र बिमा लगायतका कार्यालयको सेवा प्रवाह हाललाई स्थगित गरिएको छ । जेठ ३१ गतेसम्म थप गरिएको निषेधाज्ञामा खाद्यान्न पसलदेखि मोटरसाइकल वर्कसपसम्मका केही सेवाहरुलाई भने खुला गरिएको हो । आजदेखि बिहान नौ बजेसम्म वर्कसप पनि खोल्न दिइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्