Logo
Logo

अग्रगामी शक्तिहरुबीच एकताको आवश्यकता छ: प्रचण्ड


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रगामी शक्तिहरुबीच एकताबद्ध पहलकदमीको आवश्यकता रहेको बताएका छन् ।

प्रचण्डले जातीय छुवाछुत तथा उन्मुलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै मानिसले मानिसमाथि गर्ने भेदभाव र छुवाछुत २१ औं शताब्दीको मानव समुदायका लागि लज्जाको बिषय भएको बताए । उनले सामाजिक जागरण अभियान र कठोर कानुनी उपचारले मात्र छुवाछुतजस्ता सामाजिक अपराधलाई निर्मूल गर्न सकिने बताए ।

प्रचण्डले भने, ‘आजको विकसित दुनियाँमा पनि जातीय भेदभाव र दलित समुदायमाथिका विभिन्न प्रकारबाट हिंसा भइरहेका छन् । संविधान र कानूनमा भएको व्यवस्था मात्र कठोरतापूर्वक कार्यान्वयन गर्न सके पनि यसप्रकारका हिंसा न्यूनीकरण हुन सक्छ र उत्पीडित समुदायहरुले न्यायको अनुभूति गर्न सक्छन् ।’

सामन्ती राज्य व्यवस्था विरुद्धको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी अहिले गुम्दै जाने खतरा पैदा भएको बताउँदै प्रचण्डले शुभकामना सन्देशमा भनेका छन्- ‘सामन्तवादका उपज सामाजिक कलङ्कका रुपमा रहेको जातीय भेदभाव तथा छुवाछुत हटाई सामुदायिक सहिष्णुता कायम राख्न अग्रगामी शक्तिहरुका बीच एकतावद्ध पहलकदमीको आवश्यकता छ ।’

उनले जातीय छुवाछुत, विभेद र हिंसा सम्बन्धी संविधान र कानूनमा भएको व्यवस्था प्रभावकारी कार्यान्वयन गर्न राज्य संयन्त्रलाई निर्देशित गर्ने र जातीय हिंसा र छुवाछुत विरुद्ध जनचेतना लगायतका जागरणमूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्