Logo
Logo

उडानमा जन्मदिन मनाउँदा कारबाही


दृष्टि संवाददाता


काठमाडौं । उडानमा लापरबाही गरेको भन्दै नेपाल वायुसेवा निगमले चारजना एयर होस्टेसमाथि कारबाही गरेको छ । वैशाख १४ गते काठमाडौंबाट दुबईका लागि उडेको ९ एन एकेएक्स (न्यारोबडी) जहाजमा एयर होस्टेस निलीमा शाहीको जन्मदिन मनाएपछि निगम प्रशासनले चारजनालाई कारबाही गरेको हो ।

कारबाहीमा पर्ने एयर होस्टेसहरूमा शाही, पूर्णिमा खड्का, सुस्मिता घिमिरे र सोफिया शर्मा छन् । निगमले उनीहरूलाई तीन महिनासम्म उडानमा संलग्न नगराउने निर्णय गरेको छ । निगमका अनुसार केक काट्ने बेला जहाज ३५ हजार फिट उचाइमा थियो । उक्त उचाइका बेला चारवटै ढोका एयर होस्टेसले छाड्न मिल्दैन । तर जन्मदिन मनाउँदा ताली बजाउन एयर होस्टेसहरू एकै ठाउँ जम्मा भएको भन्दै निगमले चारजनालाई कारबाही गरेको हो । ग्याली नं. १ (ककपिटपछाडि र बिजनेस क्लासअघिको खाली ठाउँ) मा केक काटिएको थियो । जहाजमा फस्ट पाइलट अरबिन्दराज पहाडी र कोपाइलट राकेश काफ्ले थिए । एयर होस्टेसले पाइलटलाई पनि केक दिएका थिए ।

उडान प्रोटोकल मिचेका कारण चारजना एयर होस्टेसलाई कारबाहीस्वरूप तीन महिनासम्म काम गर्न रोक लगाइएको निगम प्रशासनको भनाइ छ । निगमका कार्यकारी निर्देशक डिमप्रकाश पौडेलले मापदण्ड मिचेका कारण उनीहरूलाई कारबाही गरिएको बताए। उनले कोभिड महामारीका बेला जहाजमा केक काट्न नपाइने प्रोटोकल बनाइएको जानकारी दिए । पौडेलले भने, ‘कोभिड प्रोटोकलभन्दा बाहिर गएर जन्मदिन मनाएपछि हामीले कारबाही गरेका हौं । कोभिड सुरु हुनुभन्दा अघि उडानमा केक काट्न पाइन्थ्यो ।

कोभिड सुरु भएपछि हामीले जहाजमा यसरी केक काट्न रोक लगाएका थियौं।’ निगमले बनाएको कोभिड उडान निर्देशिकामा भने उडिरहेको जहाजमा केक काट्न नपाउने भन्ने उल्लेख छैन । पछिल्लो समय सिनियर पाइलट विजय लामाले उडानका भिडियो फुटेज र फोटोहरू सार्वजनिक गरेको भन्दै नागरिक उडड्यन प्राधिकरणले फोटो सार्वजनिक गर्न प्रतिबन्ध लगाएको छ ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्