
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनका रूपमा लिनुपर्ने बताएकी छन् ।
आफू वरिपरि रहेको वातावरण सबैले सुधार गर्ने तथा वायु, जल एवं भूमि प्रदूषणबाट परिरहेको असर कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा राखेका विषय र गरेका प्रतिबद्धता कार्यान्वयन गर्नका लागि यो दिवसकले थप उत्प्रेरणा दिने विश्वास उनको छ ।
मानिसले गरेका प्राकृतिक स्रोतको अधिक दोहनका कारण वरिपरिको पारिस्थितिकीय प्रणालीमा नै असन्तुलन उत्पन्न भएकाले त्यसलाई पुनःस्थापना गर्न प्रकृतिमुखी जीवनशैली अपनाउँदै वातावरण सुधारका गतिविधि प्रवद्र्धन गर्न राष्ट्रपतिले सबैमा आह्वान समेत गरेकी छन् ।
प्रचुर जैविक विविधतासहित प्राकृतिक सम्पदाले सम्पन्न नेपालमा पूर्वाधारको विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात् गर्दै अगाडि बढ्न सके ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्नमा सहयोग पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गरेकी छन् ।











