Logo
Logo
एमाले विवाद

ओलीसँग एकता गर्ने कि नयाँ पार्टी खोल्ने ?

झलनाथ-माधव पक्ष स्थायी कमिटी बैठक बस्दै


दृष्टि संवाददाता



काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल पक्ष आज निर्णायक बैठक बस्दै छ । नेतृत्वलाई नयाँ पार्टी गठन गर्ने कि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगै अझै एकताका लागि संघर्ष गर्ने भन्ने विषयमा दुई धारमा सुझाव आएको छ ।

बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चलेको नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले अध्यक्ष केपी शर्मा ओली पक्षसँग वार्ताको ढोका खुल्ला राख्ने तर वार्ता धेरै नलम्ब्याउने निष्कर्ष निकालेको थियो । एउटा निष्कर्षमा पुग्न राखिएको बैठकमा दुई लाइन देखिएको छ ।

दुई दिन चलेको बैठकमा अन्तिम अवस्थासम्म पार्टी एकतामा जोड दिनुपर्ने र नयाँ पार्टी बनाएर जानुपर्ने गरी दुई धार देखिएको हो । बैठकमा सहभागी बहुसंख्यक केन्द्रीय सदस्यले प्रधानमन्त्री ओलीले अझै जालझेल र दाउपेच गरेर समूहलाई कमजोर बनाउने चलखेल गरिरहेको बताएका थिए ।

स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यका अनुसार आजको बैठकमा शनिबार मध्यान्ह १२ बजे भर्चुअल मिटिङले विहीबार र शुक्रबार केन्द्रीय सदस्यबाट आएको रायमाथि विमर्श गरिनेछ ।

उनले भनिन्- ‘केपी ओली एमालेका लागि मात्र होइन, देशकै लागि बोझ भइसके । अब अब हामीले पनि आफ्नो दिशा तयार गर्नुपर्ने बेला भएको छ । आजको बैठकमा यसबारे गम्भीर छलफल हुन्छ ।’

अब कसरी अघि बढ्ला ?
यसबीच आज नेपाल पक्षका स्थायी कमिटीको बैठक बस्दै छ । दुई केन्द्रीय कमिटीको दुई दिने बैठकलगत्तै नेपाल पक्षले शनिबार दिउँसो एक बजेका लागि स्थायी कमिटीको बैठक बोलाएको हो । आजको बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने एक नेताले जानकारी दिएका छन् ।

ओली पक्षले वरिष्ठ नेताद्वय नेपाल र झलनाथ खनालसहित १२ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्