Logo
Logo

आश्रममा प्रदेश सरकारको लगानी


दृष्टि संवाददाता


बागलुङ । जिल्लालाई ‘सडक मानवरहित’ बनाउने अभियानमा सक्रिय मानव सेवा आश्रमको अब आफ्नै भवन बन्ने भएको छ । आश्रम खुलेको पाँच वर्षपछि बागलुङ नगरपालिका–४ निरयघाटमा भवन निर्माण थालिएको हो ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट छुट्याइएको रु ५० लाख बजेटबाट भवनको काम शुरु गरिएको निर्माण समितिका अध्यक्ष एवं आश्रमका अभिभावक शिव खड्काले जानकारी दिए । नगरपालिकाले उपलब्ध गराएको पाँच रोपनी जग्गामा तीनतले भवन बन्न लागेको हो । “बेलैमा बजेट व्यवस्थापन हुन सकेमा आउँदा तीन वर्षभित्रैमा निर्माण पूरा गर्ने लक्ष्य छ”, अध्यक्ष खड्काले भने, “अहिले भुइँतला ढलानको काम भइरहेको छ ।” चालु आवमा प्रदेशबाट आएको बजेटले भ्याउने जति निर्माणको काम हुने बताइएको छ ।

सय जना अट्ने गरी भवनभित्रको संरचना बनाइने भएको छ । योग, ध्यान र प्रशिक्षणका लागि छुट्टै कक्ष हुनेछ । आश्रमका सबै पूर्वाधार खडा गर्दा झण्डै रु दश करोडको बजेट अनुमान गरिएको छ । सङ्घ, प्रदेश सरकार र जिल्लाका स्थानीय तहमा बजेट माग गरिने आश्रमले जनाएको छ ।

नगरपालिकाले यसअघि नै आश्रमको अभिभावकत्व ग्रहण गरिसकेको छ । नगरपालिकाकै पहलमा जग्गाको व्यवस्थापन भएपछि भवन निर्माणको टुङ्गो लागेको थियो । अहिले बागलुङ बजारस्थित अर्कैको घरबाट अस्थायी रुपमा आश्रम सञ्चालित छ । ठाउँ अभावले गर्दा धेरै जनालाई आश्रय दिन नसकिने स्थिति छ । आश्रमले सडकमा अलपत्र दीनदुःखीको उद्धार, पालनपोषण र परिवारसँग पुनर्मिलन गराउँदै आएको छ । आश्रमका संयोजक सुमिरा लामाका अनुसार अहिले ३४ जनाले आश्रय लिइरहेका छन् ।

आश्रम मनोरोग, अपाङ्गता, गरिबीलगायत कारणले सडकमा पुगेका सहयोगापेक्षीको सहारा बन्दै आएको छ । अहिलेसम्म सयौँ सडक मानवलाई उद्धार गरिएको संयोजक लामाले बताए । तीमध्ये कैयनको परिवारसँग पुनर्मिलन भइसकेको छ । “दुःख पाएर सडकमा पुगेको, सहाराविहीन, मनोरोगी आदि भेटिनुभयो भने उद्धार गरी आश्रममा ल्याउँछौँ”, संयोजक लामाले भने, आश्रमले अघिल्लो वर्ष बागलुङलाई सडक मानवरहित जिल्लाका रुपमा घोषणा गर्ने तयारी गरे पनि कोरोनाका कारण लक्ष्य पछाडि धेकेलिएको छ ।

दुई वर्षअघि कालिका भगवती मन्दिर परिसरमा मागेर जीवन गुजारिरहेका सहयोगापेक्षीको उद्धारसँगै उक्त अभियान आरम्भ भएको थियो । मन्दिर परिसर भने ‘सहयोगापेक्षी सडक मानवमुक्त’ क्षेत्रका रुपमा घोषणा भइसकेको छ । ‘सडक मानवरहित बागलुङ’को लक्ष्यमा पुग्न आश्रमले स्थानीय तह, प्रशासन र सामाजिक सङ्घसंस्थासँग हातेमालो गरिरहेको छ । परिवार र समाजबाट अपहेलित भएर सडकमा अलपत्र परेका नागरिकको संरक्षण गर्ने उद्देश्यले स्थानीय अभियानकर्मी तथा स्वयंसेवी युवाको पहलमा विसं २०७२ मा आश्रम खोलिएको थियो ।

सोही वर्ष चार सडक बालबालिकालाई उद्धार गरी पोखरास्थित बालगृहमा पठाइएको थियो । त्यसयता सडकमा मागेर खाने, सडक पेटीमै सुत्ने बालबालिकालाई आश्रमले उद्धार गरिरहेको छ । आश्रमले सहारा नपाएर अलपत्र परेका बालबालिकालाई उद्धार गरी पढाइमा समेत लगाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्