Logo
Logo

पेशा परिवर्तन गर्दै व्यापारी


दृष्टि संवाददाता



काठमाडौं । लामो निषेधाज्ञाको मारमा परेपछि व्यापारीहरूले पेशा परिवर्तन गर्न थालेका छन् । पेशा परिवर्तन गर्नेमा अधिकांश साना तथा मझौला व्यवसाय गर्ने व्यापारीहरू रहेका छन् । प्रायः साना व्यापारीले अहिले तरकारीको व्यापार गर्न थालेका छन् ।

कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको निषेधाज्ञा थपिँदै गएर जीवन धान्नै मुश्किल पर्न थालेपछि पेशा फेर्न बाध्य भएको उनीहरूले बताएका छन् । विगत ५ वर्षदेखि कुलेश्वरमा कपाल काट्ने पेशा अपनाउँदै आएका राज ठाकुरले यति बेला आफ्नो सैलुन पसलमा तरकारी बेच्दै आएका छन् ।

निषेधाज्ञाको समयमा सैलुन पसल खोल्न नदिएपछि पाँचजनाको परिवार पाल्न पसलमा भएका सैलुन सामग्री खाली गरेर तरकारी बेच्न थालेको उनले बताए । ‘निषेधाज्ञा बढ्दै गएपछि छाकटार्न पनि धौधौ पर्ने स्थिति आयो त्यसैले अहिले तरकारी र फलपूmल ल्याएर बेच्दै छु,’ उनले भने ।

कलंकीको खसीबजार नजिकै विद्युतीय सामानको व्यापार गर्दै आएका धादिङका राजेन्द्र केसीको पनि ठाकुरको जस्तै अवस्था छ । ३ वर्षअघि सहकारीबाट ५ लाख रुपैयाँ ऋण लिएर व्यापार शुरू गरेका उनी पनि गतवर्ष र यस वर्षको निषेधाज्ञाबाट निकै दुःख पाएको बताउँछन् ।

अहिले उनी आफ्नो पसलबाहिर कुखुराको मासु काटेर बेच्दै आएका छन् । ‘३ वर्ष भयो व्यापार शुरू गरेको तर महामारीको प्रभावमा परेपछि ऋण घट्नेभन्दा थपिने काम भएको छ । त्यसैले पसल बन्द गरेर घरमा यत्तिकै बस्न सकिन अनि मासु काटेर बेच्न थालेको छु जसोतसो पसलको भाडा तिर्ने पैसा आएको छ,’ उनले भने ।

गतवर्ष पनि लामो समयको बन्दाबन्दीका कारण आफूले गर्दै आएको पेशा व्यवसाय परिर्तन गर्ने तथा सटर खाली गर्ने क्रम निकै बढेको थियो । साना तथा मझौला व्यवसायीहरूको संस्था नेपाल राष्ट्रिय व्यवसायी महासंघले गर्तवर्ष निकालेको तथ्यांकअनुसार लामो बन्दाबन्दीका कारण त्यसवेला काठमाडौं उपत्यकामा मात्रै व्यापारिक प्रयोजनका लागि प्रयोग भएका करीब ४० प्रतिशत सटर खाली भएका थिए ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्