Logo
Logo

नाकामा भारत जानेको भीड


दृष्टि संवाददाता



काठमाडौं । कोरोना महामारीको डरले स्वदेश फर्केका नेपाली कामदार कोरोना कहरकैबीच पुनः कामको खोजीमा भारततिर जान थालेका छ्न । घरमा बस्दा आर्थिक समस्या भए पछि खर्च जोहोका लागि महामारीकैबीच पुनः भारततिर जान थालेका हुन । उता, केहि न केहि काम पाई हाल्ने आशमा गौरीफन्टा नाका भएर कामको खोजीमा भारत जानेको सङ्ख्या बढ्दै गएको छ ।

भारतमा दोस्रो लहरको कोरोना सङ्क्रमण सुरु भएपछि त्यहाँ रहेका नेपाली कामदार ज्यान जोगाउन स्वदेश फर्केका थिए । स्वदेश फर्केका कामदारसङ्गै नयाँ भेरियन्टसहितको कोरोना पनि भित्रिएको थियो । अहिले पनि नेपाल, भारत दुबै देशमा कोरोना महामारीको जोखिम उच्च नै छ । तैपनि, आर्थिक समस्या आइपरेपछि बाध्य भएर कामको खोजीमा पुनः भारततिर जान थालेको कामदारहरु बताउँछन् ।

गोदावरी नगरपालिका ७ का चन्द्रबहादुर विष्टले आर्थिक समस्याका कारण कोरोना जोखिमकैबीच कामको खोजीमा भारत जान लागेको बताए । उनले लागेको ऋण तिर्न र बालबच्चा पाल्न घरमा बसेर सकिन्नू, उनले भने । बाध्यताले कोरोना जोखिमकैबीच कामको खोजीमा जादैछु ।

कोरोना सङ्क्रमणका कारण भारतको कैयौं सहरमा धमाधम लकडाउन भएपछि कतिपय नेपाली बेरोजगार भएका कारण फर्किएका थिए, भने कतिपय कोरोनाको त्रासले । फर्केको केहि समयपछि फेरि उतै जान थालेका छ्न । पहिलो लहरको कोरोना सङ्क्रमणको बेला पनि भारतबाट फर्केका नेपाली कामदार महामारीकैबीच कामको खोजीमा भारततिरै गएका थिए ।

आफ्नो मुलुकमा रोजगारी नपाएकाले आफू जस्ता निम्न वर्गका धेरै व्यक्ति रोग, भोकसमेत नमानेर भारत जान बाध्य भइरहेको जोशीपुर गाउँपालिकाका पदमराज अवस्थीले बताए । यहाँ रोजगारी नपाएकाले गरिबीका कारण भारतमा गएर गुजारा गर्दै आएको उनको भनाइ थियो । दोस्रो लहरको कोरोना सङ्क्रमण चैतदेखि बढेको थियो । वैशाखमा सङ्क्रमण र मृत्युदर निकै उच्च भएको बेला गौरीफन्टा नाकाबाट तीन हजार ९९३ जना भारततिर गएका छन ।

यसैगरी, जेठको हालसम्म पाँच हजार ६८९ जना नेपाली भारततर्फ गएको त्रिनगर हेल्थ डेस्कले जनाएको छ । चैतदेखि हालसम्म गौरीफन्टा नाका भएरमात्रै १८ हजार ७७२ जना भारततिर गइसकेको डेस्कका इन्चार्ज गणेश साउदले जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्