Logo
Logo

उपप्रधानमन्त्री महतोको विस्फोटक सुरुवात


दृष्टि संवाददाता



काठमाडौं । पदभार ग्रहणपछि शुक्रबार राति दिएको विवादास्पद अभिव्यक्तिले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री राजेन्द्र महतो विवादमा तानिएका छन् । शीतलनिवासमा शपथ खाएर सिंहदरबारमा कार्यभार सम्हालेलगत्तै महतोले भनेका थिए, ‘बहुल राष्ट्रिय राज्य स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने पार्टीको एजेन्डा हो ।’

उपप्रधानमन्त्री महतोको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हितप्रतिकूल रहेको भन्दै राजनीतिक वृत्तमा विरोध भएको छ । सामाजिक सञ्जालमा उनको राजीनामासमेत माग भएको छ । एमालेको झलनाथ खनाल र माधव नेपाल समूहले उपप्रधानमन्त्री महतोको विवादित अभिव्यक्तिबारे प्रधानमन्त्री ओलीले स्पष्ट गर्नुपर्ने माग गरेको छ ।

महतोको अभिव्यक्ति नेपालको संविधानको धारा ३ मा उल्लेखित ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधितामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भन्ने व्यवस्थाको विरुद्ध रहेको भन्दै विरोध भएको छ ।

चौतर्फी विरोधपछि शनिबार मध्यरातमा महतोले विज्ञप्ति निकाल्दै आफ्नो भनाइको गलत अर्थ लगाइएको दाबी गर्दै राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

एमालेको खनाल–नेपालनिकट विद्यार्थीले उपप्रधानमन्त्री महतोको विवादास्पद अभिव्यक्तिविरुद्ध शनिबार प्रदर्शन गरेका छन् । खनाल–नेपाल पक्षधर अनेरास्ववियुले नयाँ बानेश्वरमा उनको पुतलासमेत दहन गरेको छन् । पुतला दहन गर्ने क्रममा नेपालपक्षीय अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीसहित प्रहरीले ११ जनालाई गिरफ्तार गरेको थियो । त्यस अघि खनाल–नेपाल निकट १८ जन संगठनले पनि उपप्रधानमन्त्री महतोको विवादित अभिव्यक्तिबारे प्रधानमन्त्री ओलीको मौनतालाई लिएर प्रश्न उठाएका थिए ।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्