Logo
Logo
एमाले विवाद

नेपाल पक्षले भन्यो- ‘ओलीको आह्वानको अर्थ छैन’


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको आह्वानलाई माधव नेपाल पक्षले यस्तो आव्हानको अर्थ नभएको बताएको छ । प्रारम्भिक प्रतिक्रिया दिंदै नेताहरुले ओलीको आह्वान जालझेलपूर्ण रहेको भन्दै नेपाल पक्षले खारेज गरेको छ ।

माधव नेपाल पक्षका नेताहरुले यसबारे औपचारिक धारणा आज (सोमबार) बस्ने स्थायी कमिटीको बैठकबाट सार्वजनिक गर्ने तयारी छ ।

एमाले माधव नेपाल पक्षका नेता युवराज ज्ञवालीका अनुासर आज १० बजे स्थायी कमिटीका साथीहरुसँग छलफल र औपचारिक धारणा बनाउने तयारी छ ।

आइतबार राति ओलीले विभिन्न सर्तसहित एकताका लागि आह्वान गरेका थिए । सो आह्वान पत्रमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मागसहित सर्वोच्च अदालतमा दायर गरिएको रिट फिर्ता लिनुपर्ने लगायतका बुँदा छन् । तर ओलीले संसद विघटन गलत थियो भनेर स्वीकार नगरेकोप्रति नेपाल पक्ष रुष्ट बनेको छ ।

ओलीको पत्रको केही अर्थ नरहेको नेपाल पक्षको एक नेताको भनाई छ । उनले भने, ‘ओलीको पत्रको केही अर्थ छैन । संसद विघटनमा उहाँले आत्मालोचना पनि गर्नु भएको छैन । मुद्दा फिर्ता लिने कुरै हुँदैन ।’

यस्तै नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले ओलीले एकताको नाममा फेरि झुक्याउन खोजेको बताएकी छन् । सामाजिक सन्जालमार्फत् आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै उनले ओलीको आह्वान झुक्याउन, अलमलाउन र मिडिया खपतको लागि हो भनेर बुझ्नुपर्ने बताएकी हुन् ।

पार्टी एकता हुन नदिने डिजाइनका साथ ओलीको वक्तव्य आएको उनको भनाई छ । यसप्रति भ्रममा नपर्न अनुरोध समेत उनले गरेकी छन् ।

‘एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होइन,’ उनले लेखेकी छन्, ‘यो साँच्चै एकताको लागि गरिएको भए एकता गर्नुपर्ने दुई पक्ष बिचमा सहमति गरी वरिष्ठ नेता कमरेड माधव नेपाल सहितको संयुक्त वक्तव्यको रूपमा आउँथ्यो ।’

उनले लेखेकी छन्, ‘अझ गम्भिर कुरा त के छ भने बुदा नं. ४ मा अदालतमा दिएको हस्ताक्षर फिर्ता गरिने छ भनिएको छ । यो कसले फिर्ता लिने ? फिर्ता लिने पक्षसँग यो वक्तव्य जारी गर्न सहमति वा संवाद आवश्यक पर्ने होइन र ?’

प्रतिक्रिया दिनुहोस्