Logo
Logo

बृहत् कम्युनिस्ट मोर्चा बनाउने तयारीमा नेपाल


दृष्टि संवाददाता



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालले बृहत् कम्युनिस्ट मोर्चा बनाउने तयारी थालेका छन् । आफूले ससाना कम्युनिस्ट घटकलाई जोड्दै एमालेलाई अहिलेको अवस्थामा ल्याएको र अहिले छिन्नभिन्न बनेर बसेका कम्युनिस्ट घटकलाई पनि जोड्न सके ठूलो कम्युनिस्ट पार्टी बनाउन सकिने उनको विश्लेषण छ । ‘अहिले एमालेको मात्रै एकताका बारेमा नसोच्नुस्, कसैले एमाले एकताका बारेमा बुझ्लान् तर हामी कम्युनिस्ट पार्टीहरुका बीचको एकताका पक्षमा छौं । बृहत् रुपले कम्युनिस्ट आन्दोलनको एकताको पक्षमा छौं’, नेता नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

उनले केपी ओलीका कारण कम्युनिस्ट आन्दोलन छिन्नभिन्न हुने अवस्था आएको र अवसरका लागि मात्रै प्रयोग गरेकाले एमाले पनि ध्वस्त भएर गएकाले कम्युनिस्ट आन्दोलनलाई बृहत् रुपमै सँगालेर लैजानुपर्ने आवश्यकता रहेको बताएका हुन् । उनले यो विषयमा माओवादीबाट छुट्टिएर बसेका नेता र एमालेबाट विश्राम लिएका नेतासँग एक चरण कुराकानी गसिकेका छन् ।

आफैंले बनाएको घरबाट ओलीले निकाल्न खोजेपछि नेपालले आफू निकटका नेताहरूसँग नयाँ दलको तयारी र बृहत् कम्युनिस्ट मोर्चाका बारेमा कुराकानी सुरु गरिसकेका छन्  । सार्वजनिक रुपमा भने नेता नेपालले संघर्ष र रुपान्तरणसहितको एकता खोजिरहेको बताएका छन्  । ‘अहिले संघर्ष चलिरहेको छ, ओली रुपान्तरण भए एकता हुन्छ, रुपान्तरित भएनन् भने संघर्षकै नीति लिन्छौं’, नेता नेपालले भने । उनका अनुसार ओली सच्चिने सम्भावना निकै कम छ ।

ओली नसच्चिने निष्कर्ष निकालेकै कारण आफूहरू संघर्षको चरणमा प्रवेश गरिसकेको उनले बताए  । ओली सच्चिने सम्भावना निकै कम छ त्यसैले हामी अन्तिमअन्तिम विन्दुमा पुगेका छौं, पार्टी पुनर्गठनका पक्षमा छौं’, नेता नेपालले नागरिकसँग भने  । गत आइतबारदेखि एक सातासम्म पार्टीका विभिन्न तह र तप्कासँग नेपालले छलफल गरेका थिए  । उनले सबैजसो जनवर्गीय संगठन, पार्टीका समानान्तर जिल्ला कमिटी, केन्द्रीय सदस्य तथा सांसदसँग छलफल गरेका थिए  । उनले अब धेरै दिन कुरेर बस्न नसक्ने भन्दै आफू निकटका नेताहरूको राजनीतिक भविष्य सुरक्षित बनाउन पनि नयाँ दल खोल्नुपर्ने बाध्यता रहेको बताउन थालिसकेका छन्  ।

उता ओली पक्षका नेताले भने नेपालकै कारण पार्टी विभाजनको डिलमा पुगेको बताउँदै आएका छन् । दोस्रो तहका नेता पार्टी एकताको पक्षमा रहेका बेला नेता नेपालले अलि बढी नै अडान लिएको उनीहरूले बताएका छन् । ओली पक्षले नेता नेपालसँगै कुराकानी गरेर विश्वास दिलाउन सकेमात्रै पार्टी एकता सम्भव रहेको बताएको छ । ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली तथा नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, घनश्याम भुसाल र योगेश भट्टराईले अनौपचारिक संवाद गरिरहेका छन् । वार्ता परिणाममुखी हुन नसकेपछि यस विषयमा नेपाल समूहका केन्द्रीय सदस्यहरूको बैठकमा शंकासमेत व्यक्त भएको थियो  । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्