Logo
Logo

‘मुलुकप्रति गम्भीर घात हुन लागेको सूचना पाएको छु’


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद‍् अध्यक्ष बाबुराम भट्टराईले मुलुक गम्भीर संकटमा पर्दैछ भन्ने सूचना पाएको जानकारी गराएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराइले मुलुकप्रति गम्भीर घात हुन लागेको सूचना आफूले पाएको र त्यो सूचना प्रधानमन्त्री केपी शर्मा ओलीदेखि राजनीतिक दलका शीर्ष नेताहरुलाई जानकारी गराएको बताएका हुन् ।

पाँच पुसदेखि जेठ ८ गते देशभित्र र बाहिर रहेका तत्वहरुको ठूलो ग्राण्ड डिजाइन अनुसार मध्यरातसम्मका परिघटना भएको भट्टराईले बताएका छन् । तर त्यो सूचना के हो भन्ने भट्राईले समय आएपछि मात्रै खुलाउने बताए । उनले कुनै दिन यथार्थ बाहिर ल्याउने तर अहिले बेला नभएको बताए ।

हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’सँगको कुराकानीमा डा. भट्टराईले भने, ‘वैशाख १३ गते करिब–करिब मध्यरातमा मेरो जीवनमा यस्तो एउटा घटना घटेको छ यो आज पनि उद्घाटित गर्दिनँ, तपाईंलाई संकेत मात्र गर्छु,’ उनले भने, ‘कुनै दिन मैले नेपाली जनतालाई बुझाउनुपर्छ किनकी म देशको सार्वभौमिकता, स्वाधिनता, देशको लोकतन्त्र र संविधानप्रति बफादार रहन भनेर सपथ लिएको पूर्व प्रधानमन्त्री हो ।’

देश गम्भीर संकटमा पर्दैछ भन्ने सूचना पार्टीका जिम्मेवार नेता र अन्य पार्टीका शीर्ष नेताहरुलाई पनि जानकारी गराएको बताए । ‘त्यसैले मसँग भएका सूचना मैले कुनै दिन नेपाली जनतालाई बताउनुपर्छ । यो देशको कुर्सीमा बसेको प्रधानमन्त्री केपी ओलीलाई मैले यो कुराको जानकारी गराएर देशलाई बचाउनुपर्छ भनेर विशुद्ध आत्मा लिएर म उनीकहाँ गएको हो ।’ भट्टराईले ओलीसँगको मध्यरातको भेटबारे उल्लेख गरे ।

सो सूचनाको आधारमा देशलाई बचाउने हो भने केही गम्भीर कदम चाल्नुपर्छ भन्दै प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न भनेको उनको भनाई छ । उनले भने, ‘मुलुकको सार्वभौमसत्ता, संविधान, स्वतन्त्रतासँग सम्बन्धित विषयमा त्यस्तो कुनै घात हुँदैछ भनेर मैले मेरो देशको प्रधानमन्त्रीलाई सूचित गरेको हो । तर मैले त्यस्तो गम्भीर विषय उठाउँदा उनले विषयान्तर गरे ।’

प्रतिक्रिया दिनुहोस्