Logo
Logo

पुष्प व्यवसायमा दैनिक १ करोडको क्षति, २० प्रतिशतले गुमाए रोजगारी


दृष्टि संवाददाता




काठमाडौं । पुष्प व्यवसायमा दैनिक १ करोड रुपैयाँको क्षति हुन थालेपछि यस व्यवसायमा आबद्ध करीब २० प्रतिशत कामदारले रोजगारी गुमाएका छन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि हाल जारी गरिएको निषेधाज्ञाका कारण समग्र पुष्प व्यवसाय ठप्प हुँदा यस क्षेत्रमा दैनिक १ करोड रुपैयाँको क्षति हुन थालेको हो ।

व्यवसाय नै ठप्प भएर कामदारलाई तलब दिन नसक्ने अवस्था सृजना भएपछि रोजगारी गुम्ने क्रम बढेको हो । निषेधाज्ञाका कारण होटेल, रेस्टुराँ, पार्टी प्यालेस, मन्दिर बन्द छन् भने भोजभतेरलगायत कार्यक्रमसमेत बन्द रहेका छन् । यसले गर्दा फूलको कारोबार पनि ठप्प भएको छ । वैशाख र जेठमा विवाह व्रतबन्धजस्ता कार्यक्रम बढी हुने भएकाले फूलको कारोबार पनि बढी हुने गर्थ्यो । तर, अहिले व्यवसायीका फार्म र नर्सरीमा फुलेका फूलले बजार पाएका छैनन् ।

फ्लोरी कल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार नेपालको पुष्प व्यवसायमा वार्षिक २ अर्ब ६० करोड रुपैयाँभन्दा धेरैको कारोबार हुने गर्छ । यही आधारमा हिसाब गर्ने हो भने हाल देशभरिको पुष्प व्यवसायमा दैनिक करीब १ करोड रुपैयाँ बराबरको क्षति भइरहेको उनको अनुमान छ । । ‘यो अनुमानित हो, वास्तविक क्षति अझै बढी हुन सक्छ । एशोसिएशनले चाँडै पूर्ण क्षतिको विवरण सकंलन गर्ने तयारी थालेको छ,’ उनले भने ।

फ्लोरी कल्चर एशोसिएशनको तथ्याङ्कअनुसार यस व्यवसायमा देशभरिमा ६ अर्बको लगानी रहेको छ । यो हाल ४३ जिल्लामा फैलिएको छ । यसबाट ७ सयभन्दा बढी व्यवसायीका साथै प्रत्यक्ष र अप्रत्यक्ष रूपमा गरी ४० हजार मान्छेले रोजगारी पाएका छन् ।

नर्सरीहरूसँग सिजन अनुसारका मौसमी फूल र फार्महरूसँग एकवर्षे र बहुवर्षे फूलहरूको उत्पादन हुन्छ । तर, निषेधाज्ञाका कारण यी सबै फूल नष्ट भएको एशोसिएशनको भनाइ छ ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्