Logo
Logo
कोरोना कहर

आजदेखि कोरोनाविरुद्ध भेरोसिल खोप

सातै प्रदेशमा लगाइँदै


दृष्टि संवाददाता


काठमाडौं । चीन सरकारद्वारा अनुदानमा उपलब्ध गराइएको कोरोनाविरुद्धको खोप भेरोसिल आज (मंगलबार)देखि लगाउन सुरु गरिँदैछ । देशव्यापी रूपमा ६० देखि ६४ वर्ष उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डा. झलक गौतमले जानकारी दिए ।

उनले नेपालमा ६० देखि ६४ वर्षका साढे आठ लाख जनसङ्ख्या छ । डा। गौतमले काठमाडौँ उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई र काठमाडौँबाहिर ६२ देखि ६४ उमेरका व्यक्तिलाई खोप लगाइने बताए ।

हिमाली जिल्लाका तिब्बतसँग सीमा जोडिएका पालिकामा भने १८ वर्षदेखि माथिका सबैलाई खोप लगाइनेछ । हिमाली क्षेत्रमा पटक–पटक खोप पुर्याउन गाह्रो हुने भएकाले १८ वर्ष माथिकालाई खोप लगाइने भएको हो । हिमाली जिल्लामा यसअघि ५२ वर्षमाथि उमेरसमूहका व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।

खोप लगाउन जाँदा उमेर खुल्ने प्रमाणपत्र लिएर जान आग्रह गर्नुभयो । डा। गौतमका अनुसार यो पटक लक्षित समूहबाहेक अन्य व्यक्ति तथा समूहलाई प्राथमिकताका आधारमा खोप लगाइनेछैन । यसअघि त्यसरी खोप लगाउँदा लक्षित समूहलाई नपुगेकाले यो पटक लक्षित समूहलाई मात्र खोप दिन लागिएको हो ।

महानगरमा खोपको तयारी
काठमाडौँ महानगरपालिकाले मङ्गलबारदेखि ३२ वटै वडामा कोरोनाविरुद्धको खोप केन्द्र सञ्चालन गरी खोपको पहिलो मात्रा दिने तयारी गरिएको छ । महानगरपालिकाले तय गरेका खोप केन्द्रहरूबाट ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिने गरी तयारी गरिएको हो ।

काठमाडौँ महानगरपालिका सहरी स्वास्थ्य विभागका अनुसार ती केन्द्रमा जेठ २५ देखि २९ सम्म सञ्चालन हुने खोप कार्यक्रममा जेठको क्रमशः २५ गते ६४ वर्ष, २६ गते ६३, २७ गते ६२, २८ गते ६१ र २९ गते ६० वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिने कार्यक्रम रहेको छ । खोप लगाउन खोप केन्द्रमा जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज वा सम्बन्धित वडाको सिफारिस लिएर जानुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्