विश्वकप फुटबल छनोटमा नेपाल पराजित « Drishti News – Nepalese News Portal
Logo

विश्वकप फुटबल छनोटमा नेपाल पराजित


दृष्टि संवाददाता


काठमाडौं । विश्वकप तथा एसियन कप फुटबलको संयुक्त छनोट अन्तर्गत नेपाल सोमबार जोर्डनसँग पराजित भएको छ । जोर्डनले नेपाललाई कुवेत सिटीमा भएको खेलमा ३–० गोल अन्तरले पराजित गरेको हो । जोर्डनले नेपालमाथि मध्यान्तर अघि एक र मध्यान्तरपछि दुई गोल गरेको हो ।

जोर्डनका लागि बाहा फैजलले दुई गोल गरे । फैजलले खेलको २३ औं र ४८ औं मिनेटमा गोल गरेका थिए । उनले पहिलो गोल पेनाल्टीमार्फत र दोस्रो गोल फ्रिकिकमार्फत गरे । जोर्डनका लागि तेस्रो गोल यजान अल अरबले गरे । यजानको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

खेलमा जोर्डनले सुरुदेखि नै नेपाललाई दबाबमा राखेको थियो । जोर्डनले गोलका लागि कयौं अवसर प्राप्त गरे पनि नेपाली रक्षापंक्ति र गोलकिपर किरण चेम्जोङले विफल तुल्याइदिएका थिए ।

नेपालले मध्यान्तरपछिको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्ने आकर्षक अवसर प्राप्त गरे पनि सदुपयोग गर्न सकेन । नेपालका नवयुग श्रेष्ठ ‘वान भर्सेस वान’ को अवस्थामा गोल गर्न चुकेका हुन् ।

प्रतिक्रिया दिनुहोस्