Logo
Logo

घरघरै ज्वरोका बिरामी


दृष्टि संवाददाता


काठमाडौं । तीन दिनदेखि ज्वरो आउने, खोकी लाग्ने र शरीर दुख्ने समस्याबाट थलिएपछि कालीकोटको खाडाचक्र–४ ताडीका ३६ वर्षीय युवाले बुधबार आधारभूत स्वास्थ्य इकाइमा स्वास्थ्य परीक्षण गराए । एन्टिजेन परीक्षणमा कोरोना पुष्टि भएपछि उनलाई होम आइसोलेसनमा पठाइयो । अहिले आफन्त र छरछिमेकी उनको घरमा आउनै डराउन थालेका छन् ।

परिवारका अन्य तीन सदस्यलाई उस्तै लक्षण देखिए पनि समाजको डरले कोरोना परीक्षण गराएका छैनन् । ‘अस्पताल गयो, स्वास्थ्यकर्मीले कोरोना छ भनेर घर पठाइदिन्छन्,’ उनले भने, ‘कोरोना लागेपछि गाउँमा सबैको हेलाको पात्र बन्नुपरेको छ ।’

खाडाचक्र–४ स्थित दलित टोलमा घरघरै ज्वरोका बिरामी छन् । कोरोना देखिए हेला हुने भन्दै उनीहरूले पनि परीक्षण गराउन मानेका छैनन् । स्थानीय स्वास्थ्यकर्मी बुद्धिप्रसाद आचार्यले गाल्लीखोला, गाब, चिउरेला, मोटेलीवाडा, घटालीगाउँ र दमाइवाडालगायत टोलमा अधिकांश घरमा बालबालिकादेखि वृद्धसम्म ज्वरोले थलिएको बताए ।

‘बिरामीलाई सबैले सामान्य रुघाखोकीका रूपमा लिएका छन्,’ उनले भने, ‘एन्टिजेन किट लिएर गाउँमा गए पनि कसैले परीक्षण गराउन मानेनन् ।’ उनका अनुसार खाडाचक्र नगरपालिकाले आधारभूत स्वास्थ्य इकाइमा करिब ५० थान एन्टिजेन किट पठाएको छ । ज्वरो र रुघाखोकी लागेका बिरामी इकाइमा समेत उपचारका लागि नआउने गरेको उनले बताए । अधिकांश बिरामीले घरेलु उपचार गराइरहेको उनको भनाइ छ ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्