Logo
Logo

संक्रमण जितेर खेतीपातीमा


दृष्टि संवाददाता


तस्विर कान्तिपुर

काठमाडौं । बाँझो खनजोत गर्दै थिए, निमोनिया देखियो । बाँकेको राप्तीसोनारी–७ सर्रीका ३२ वर्षीय रामकरन चौधरी ज्वरोले थला परे । चिकित्सकसित परामर्श गरेर कोरोना परीक्षण गराए । वैशाखको दोस्रो साता संक्रमण पुष्टि भयो ।

घरमै आइसोलेसनमा बसेर खेतीपातीको काममा व्यस्त हुन थालेका उनी अहिले संक्रमण मुक्त भइसके । रोपाइँका लागि धानको ब्याड तयार गरिसके । सात जनाको परिवारले १० कट्ठामा खेती गर्दै आएको छ । ‘कोरोनाले आर्थिक भार बढायो । आफैं बिरामी परेपछि कमाउने कोही भएनन्,’ उनले भने, ‘अब खेतीको भरोसामा छौं ।’ खेतीपातीबाहेक उनी अटो रिक्सा चलाउँछन् । निषेधाज्ञा लागू गरिएपछि रिक्सा पनि गुड्न छाड्यो । ‘नगद कमाइ नभएपछि खाना जुटाउन समस्या छ,’ उनले भने ।

खजुरा–२ की ६५ वर्षीया पार्वती खड्कालाई गत वैशाख २६ मा कोरोना संक्रमण देखियो । खजुरा गाउँपालिकाले बनाएको आइसोलेसन सेन्टरमा १२ दिन बसिन् । त्यतिबेला उनलाई रोगभन्दा खेतबारीको काम सम्झेर चिन्ता लाग्थ्यो । अहिले २ बिघा ४ कट्ठामा रोपाइँ गर्न ब्याड राखिसकेकी छन् । ‘एक हप्ता भयो ब्याड राखेको,’ उनले भनिन्, ‘रोगभन्दा खेतीपातीको चिन्ता छ ।

वर्षभरिको खाना जोहो यसैबाट हुने हो ।’ कोहलपुर–१४ चित्रानगरकी ५३ वर्षीया अनिता पुन कोरोना संक्रमण भएर निको भएकी छन् । गत वैशाख २१ मा अस्पतालबाट डिस्चार्ज भएपछि खेतीपातीको काममा व्यस्त छिन् । उनलाई खेतीको चिन्ताले सताएको छ । एक बिघा जमिनमा उनले खेती गर्दै आएको वर्षौं भइसक्यो ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्