रुकुम र दाङमा निषेधाज्ञा थप « Drishti News – Nepalese News Portal
Logo

रुकुम र दाङमा निषेधाज्ञा थप


दृष्टि संवाददाता


रुकुम । रुकुम (पूर्व) मा निषेधाज्ञाको अवधि एक हप्ता थप भएको छ । जिल्लामा कोरोनाको जोखिम बढ्दै गएकाले लामो समयदेखि निषेधाज्ञा लागू गरिएको छ ।

पछिल्लोपटक थप गरिएको अवधि आज राती १२ बजेबाट सकिदै थियो । कोरोना सङ्क्रमणमा कमी नआएकाले एक हप्ता थपिएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) संयोजक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए ।

दाङमा असार १ सम्म

जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बैठकले दाङमा निषेधाज्ञा थप गरेको छ । यसअघि आजसम्म तोकिएको निषेधाज्ञा असार १ गते साँझ ६ बजेसम्मका लागि थपिएको हो । यद्यपि अब भने केही खुकुलो भएको छ ।

बैंक तथा वित्तिय संस्थाहरु अब दैनिक विहान १० बजेदेखि दिउसो २ बजेसम्म खुल्नेछन् । विहान ६ बजेदेखि १० बजेसम्म बजारमा किनमेल पनि खुल्ला गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

होटेल, सैलुन, चिया पसल,रेष्टुरेन्ट, जिम क्लब, सिनेमा हलबाहेक सबै पसल खुल्ला रहने भएका हुन् । त्यसमा स्वास्थ्य तथा सुरक्षाको मापदण्ड भने लागु गर्नुपर्ने छ ।

बुधबारदेखि यहाँका सबै सरकारी कार्यालय खुल्ने भएका छन् । यसअघि अति आवश्यक सरकारी कार्यालय मात्रै खुल्ला थिए । अब भने सीमित कर्मचारीको सहभागितामा​ सबै सरकारी कार्यालय खुल्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्